अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान टोलीले ललिता निवासको जग्गा अनियमिततामा आफ्नै पूर्व प्रमुख दीप बस्न्यातसहितको मिलेमतो रहेको भन्दै छानबिन प्रतिवेदन पेश गरेको छ । अख्यितारकै एक महाशाखा प्रमुखको नेतृत्वमा बनेको अनुसन्धन टोलीले बस्न्यातसहितका सरकारी कर्मचरी र अन्य भूमाफियालाई भ्रष्टाचार मुद्दा चलाउनुपर्ने रायसहित प्रतिवेदन बुझाएको हो ।
आयुक्तहरुले प्रतिवेदन अध्ययन गरिरहेका छन् । यस मामिलामा अख्तियारले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग पनि सोधपुछ गरेको दुईभन्दा बढी स्रोतहरुले दाबी गरेका छन् ।
अख्तियारको टोलीले पूर्वप्रधानमन्त्री नेपालसँग २०६६ चैत र २०६७ वैशाखको मन्त्रिपरिषद् निर्णयबारे अत्यन्त गोप्यरुपमा जानकारी लिएको हो । नेपालले भने त्यसलाई अस्वीकार गरेका छन्, भनेर आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।