नुवाकोटमा मिनीट्रक दुर्घटना : दुई जनाको मृत्यु

नुवाकोटको विदुर नगरपालिका–६ स्थित मुल्थलामा बाटोको काम गर्ने नागार्जुन कन्स्ट्रक्सन कम्पनी प्रालिका दुईजना कर्मचारीको मिनीट्रक दुर्घटनामा परी मृत्यु भएको छ । दुर्घटनामा ६ जना घाइते भएका छन् ।

मुल्थलाबाट चैनपुरतर्फ काम गर्न जाँदै गरेको बा २ क ७९१० नम्बरको मिनीट्रकमा सवार सोही कम्पनीका कर्मचारी दुई जनाको दुर्घटनामा परी मृत्यु भएको नुवाकोट प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले बताए । नायब उपरीक्षक थापाका अनुसार मिनीट्रकमा सवार नागार्जुन कन्स्ट्रक्सन कम्पनीका कर्मचारीहरू बाटोको काम गर्न चैनपुर जाँदै गर्दा दुर्घटना भएको हो ।



मृत्यु हुनेमा रसुवा जिल्ला नौकुण्ड गाउँपालिका–३ का १९ वर्षीय सुदीप तमाङ (सह–चालक) र खोटाङ जिल्ला घर भएका १९ वर्षीय अविरल तामाङ रहेका छन् । उनीहरूको घटनास्थलमै मृत्यु भएको हो ।

घाइते हुनेमा नुवाकोट ककनी गाउँपालिका–१ का २८ वर्षीय गणेश बलामी (चालक), सोही जिल्लाका विदुर नगरपालिका– ६ का ४५ वर्षीय सचितकुमार रिमाल, जाजरकोट जिल्ला भेरी नगरपालिका–३ का २२ वर्षीय शङ्करराज सुनार, सोही ठाँउका २७ वर्षीय हेमराज ठकुरी, ३० वर्षीय तिलक खत्री र १८ वर्षीय विमल सुनार रहेको प्रहरी नायव उपरीक्षक थापाले जानकारी दिए । घाइते ६ जनामध्ये दुई जनालाई काठमाडौं ‘रिफर’ गरिएको र चारजनाको त्रिशुली अस्पतालमा उपचार भइरहेको उनले बताए ।

सम्बन्धित समाचार