एमसीसीलाई सैन्य गठबन्धन भन्नु अज्ञानताको कारण हो : पूर्वअर्थमन्त्री

नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. रामशरण महतले मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) लाई सैन्य गठबन्धन हो भन्नु अज्ञानताको कारण भएको बताएका छन् । रिपोर्टस क्लब नेपालले आइतबार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै डा. महतले एमसीसीको मुख्य उद्देश्य गरिबी निवारण भएको भन्दै यसलाई कसैले सैन्य गठबन्धन भन्नु अज्ञानता र काल्पनिक कुरा भएको बताए ।

डा. महतले अमेरिकाको मिलेनीअम च्यालेन्ज कर्पोरेशन (एमसीसी) ले आर्थिक रूपले विपन्न विश्वका विभिन्न मुलुकहरूलाई आफ्ना केही निश्चित मापदण्ड पूरा गरेवापत सहयोग गर्ने गरेको बताए । उनले भने ‘निश्चित मापदण्डभित्र नागरिक अधिकार, राजनीतिक अधिकार, प्रजातान्त्रिक व्यवस्था, सुशासन र उदार आर्थिक नीति हेरिन्छ । यी सबै मापदण्ड पूरा गर्ने मुलुकहरूलाई एमसीसीले सहयोग गर्दछ । जसअनुसार एमसीसीले ३० करोडदेखि ७० करोडसम्मको सहयोग गर्ने घोषणा गरेको छ ।’



एमसीसीको मुख्य उद्देश्य गरिबी निवारण गर्दै जनताको जीवन उकास्ने भएको बताउदै डा. महतले त्यसका लागि आर्थिक वृद्धिदर बढाउनु पर्ने र आर्थिक वृद्धिदर बढाउनका लागि पूर्वाधार विकास हुनु पर्ने र त्यसपछि मात्र जनताको जीवनस्तरमा सुधार आउने डा. महतले बताए ।

एमसीसीको मामलामा कुनै पनि अप्ठ्याराहरू नरहेकाले यसलाई चाँडोभन्दा चाडो संसदले पारित गर्नु पर्नेमा डा. महतले जोड दिए । उनले एमसीसी सहयोग प्राप्त गर्न आफूहरूले विगतमा धेरै मिहेनत गरेर धेरै सर्तहरूसमेत पूरा गरिसकेको स्मरण गराउदै अब कुनै पनि आनाकानी र बाहनाबाजी गर्न नहुने बताए । साथै, उनले एमसीसी अन्तर्गतका योजनाहरू नेपालका लागि अति आवश्यक रहेकाले नेपालले यो अवसर गुमाउन नहुने भन्दै एमसीसीअन्तर्गतको ५६ अर्ब बराबरको सम्झौता ऋण नभएर अनुदान भएको पनि स्पष्ट पारे ।

सम्बन्धित समाचार