कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलपक्षीय जिल्ला सभापतिहरूले बृहत् भेला आयोजना गर्ने भएका छन् । वरिष्ठ नेता पौडेल पक्षीय १७ जिल्लासभापतिहरुको बैठकले माघ महिनाभित्र भेला गर्ने निर्णय गरेको हो ।
जिल्ला सभापतिसहित ३ सय ३० प्रदेश निर्वाचन क्षेत्रकै प्रतिनिधि सहभागी हुने गरी भेला आयोजना गर्ने निर्णय भएको काभ्रे जिल्ला सभापति मधु आचार्यले बताए । पार्टीलाई विधि र विधानसम्मत रूपमा अघि बढाउन नेताहरूलाई दबाब दिन भेला आयोजना गर्न लागिएको उनले बताए ।
काभ्रे, नुवाकोट, सिन्धुपाल्चोक, रामेछाप, संखुवासभा, जाजरकोट, बाँके, डडेलधुरा, खोटाङ, रोल्पा, उदयपुरलगायत १७ जिल्लाका सभापतिको बैठकले भागबन्डा दिने र माग्ने काम बन्द गर्नसमेत दुवै पक्षका शीर्षनेतालाई अपिल गरेका छन् ।
‘पार्टीभित्र भाग खोज्न हुन्न, दिन पनि हुन्न,’ आचार्यले भने, ‘योग्य र क्षमताका आधारमा सबैलाई समेटेर पार्टी सञ्चालन गर्नुपर्छ भन्ने हाम्रो निर्णय हो।’सभापति शेरबहादुर देउवाले विधानअनुसार विभाग गठन गर्न नसक्ने निष्कर्ष उनीहरूको छ ।