नवकान्तिपुर संवाददाता
काठमाडौं, ८ पुष ।
सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा स्थायी समिति सदस्य रघुजी पन्तले भारतसँगको खुल्ला सिमानालाई दुरुपयोग गर्दै भारतबाट विभिन्न देशका अवाञ्छित तत्वहरू नेपाल प्रवेश गर्ने खतरा बढेको बताएका छन् । रिपोर्टस क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा नेता पन्तले खुल्ला सिमानाका कारण अहिले भुटानी शरणार्थीदेखि रोहिंग्याहरूसमेत नेपाल प्रवेश गर्ने गरेकोे भन्दै विभिन्न देशका अवाञ्छित तत्वहरू नेपाल प्रवेश गर्ने खतरा बढेको बताएका हुन् ।
भारतसँगको खुल्ला सिमाना नेपालको स्वतन्त्रता, राष्ट्रियताको संरक्षण, भौगोलिक अखण्डता र नेपालको सुरक्षाको लागि चुनौती भएकाको बताउदै नेता पन्तले नेपाल र भारतबीचको खुल्ला सीमालाई व्यवस्थित गर्दै जानुपर्ने र विस्तारै पासपोर्ट लागु गर्नुपर्ने कुरामा जोड दिए ।
नेता पन्तले स्थायी कमिटीको बैठकमा सीमा विवादका वारेमा छलफल भएको जानकारी दिदै भारतले जारी गरेको नक्सा नमान्ने, सीमा समस्या समाधान गर्न कुटनीतिक पहल गर्ने र नेपाली भूमिबाट भारतीय सेना हटाउने निर्णय भएको बताए । साथै, उनले स्थायी कमिटीको बैठकमा पार्टीभित्रको राजनीति र राष्ट्रिय राजनीतिसँगै सरकारको काम कारवाहीका वारेमा पनि छलफल भएको बताए ।