कार्यकारी राष्ट्रपतिको अभ्यास गराउन चाहन्छन् ओली ?

राष्ट्रपति विद्यादेवी भण्डारीले लञ्च मिटिङमा नेपाल कम्युनिस्ट पार्टी नेकपाका ११ जना स्थायी कमिटीका नेताहरूलाई बोलाएर छलफल गरेपछि उनी पुनः एकपटक विवादमा तानिएकी छन् । पछिल्लो समय राष्ट्रपति भण्डारी राजनीतिमा सक्रिय देखाएको भन्दै नेकपाकै नेताहरूबाट उनको आलोचना हुन थालेको छ । संवैधानिक राष्ट्रपतिले कार्यकारी हैसियतको राष्ट्रपति जस्तो राजनीतिमा पनि सक्रियता देखाउनु नहुने राजनीतिका विज्ञहरू बताउछन् ।

नेपालको संविधानले राष्ट्रपतिलाई दिएको अधिकार –
भाग ६: राष्ट्रपति र उपराष्ट्रपति
६.१, (१) नेपालमा १ राष्ट्रपति रहनेछ ।
(२) राष्ट्रपति नेपालको राष्ट्राध्यक्ष हुनेछ । निजले यस संविधाान संघीय कानून बमोजिम आफ्नो कार्य सम्पादन गर्नेछ ।
(३) राष्ट्रपतिले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन गर्नेछ ।
(४) संविधानको पालना र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख काम हुनेछ ।
यस अनुसार संविधानले नेपालको राष्ट्रपतिलाई संविधानको पालना र संरक्षण गर्ने जिम्मेवारी दिएको छ । हामी संघीय लोकतान्त्रिक गणराज्यको अभ्यासमा छौं । हाम्रो विविधताको प्रतीक राष्ट्रपति बनाउने वा कार्यकारी राष्ट्रपति बनाउने भन्ने विषयमा बेला वखत बहस पनि हुने गरेको छ ।



पहिलो संविधानसभामा नेपाली कांग्रेसको तर्फबाट तत्कालीन सभापति गिरिजाप्रसाद कोइरालाले संविधानका अन्तरवस्तु दस्तावेज समितिमा बुझाउदा शासकीय स्वरूपमा मौन रहेको थियो । त्यस बखत नेकपा एमालेको घोषणापत्रमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री भनेर संविधानसभामा मत मागेको थियो भने नेकपा माओवादी प्रत्यक्ष कार्यकारी राष्ट्रपति भनिरहेको थियो । संविधानसभाको पहिलो निर्वाचन अघि तत्कालीन नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हुनेवाल कार्यकारी राष्ट्रपतिको रूपमा भित्ता भित्ताका सजाइएको पनि थियो । कतिले उनलाई भित्ते राष्ट्रपति भनेर व्यङ्ग्य गर्न पनि भ्याएका थिए । तर संविधानसभाको निर्वाचनपछि दलहरू प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दाबाट पछि हटे । प्रचण्ड कार्यकारी प्रधानमन्त्री बने । प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको मुद्दा विस्तारै सेलायो ।

शक्तिशाली राष्ट्रपतिको अभ्यास भएको मुलुक संयुक्तराज्य अमेरिका हो । अमेरिकाको राष्ट्रपति निर्वाचनको प्रणाली आफ्नै किसिमको छ । राष्ट्रपति कार्यकारी हुँदा हुँदै संवैधानिक बनेको भारतको अभ्यासले देखिन्छ । नेपालका सन्दर्भमा कार्यकारी राष्ट्रपतिको निर्वाचन गराउने हो भने नेपालको विविधताको प्रतीक के भन्ने गम्भीर प्रश्न उठ्न सक्छ । यस विषयमा पर्याप्त छलफलको आवश्यक देखिन्छ ।

कार्यकारी राष्ट्रपतिको अभ्यास गराउन चाहन्छन् ओली ?
पछिल्लो समय प्रधानमन्त्री केपी ओली स्वास्थ्यका कारण त्यति सक्रिय हुन सकिरहेका छैनन् । उनले पार्टीकै नेताहरूसँग पनि नियमित भेटघाट गरेका छैनन् । मृगौला प्रत्यारोपण गर्नुपर्ने भएकोले लामो समय उनले आराम गर्नुपर्ने हुन्छ । त्यसैले पनि ओली कार्यकारी अधिकार दिने उपयुक्त व्याक्तिको खोजीमा छन् ।

यता पछिल्लो समय आफू विमारी भएर सक्रिय हुन नसक्दा नेकपामा अर्का अध्यक्ष प्रचण्ड हाबी हुँदै गएको ओलीलाई मन परेको छैन । प्रचण्डको प्रभाव बढ्नु भनेको आफू तल पर्नु हो भन्ने बुझेका ओलीले वामदेव गौतमलाई पार्टीको उपाध्यक्ष बनाएर सक्रिय बनाउन चाहेका छन् । विधान परित गएरै भएपनि वामदेवलाई उपध्यक्ष बन्ने स्थायी समितिको बैठकले बाटो खुला गरिदिइसकेको छ ।

त्यसैगरी स्वास्थ्य अवस्थाका कारण विस्तारै कमजोर हुँदै गएका ओलीले राष्ट्रपति भण्डारीलाई कार्यकारी अधिकार सुम्पिएर आफू उपचारमा लाग्ने सोच बनाएको स्रोतको दाबी छ । प्रधानमन्त्री ओलीकै इशारामा स्थायी कमिटीका ११ नेताहरूलाई राष्ट्रपतिले शीतल निवासमा बोलाएर लञ्च मिटिङ गरेको स्रोतको दाबी छ ।

स्थायी कमिटी बैठकमा एकाएक करिब एक दर्जन नेताहरू राष्ट्रपति शीतल निवासमा लञ्च मिटिङ गर्न गएपछि यो विषयले नेकपाको स्थायी कमिटीको बैठकमा भनाभन नै चलेको थियो ।

शनिबार नेकपाका प्रभावशाली नेतालाई राष्ट्रपतिले लञ्च मिटिङमा बोलाएर राजनीतिक कुराकानी गरेपछि पछिल्लो समय प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई कार्यकारी अधिकार दिएर उपचारका लागि अमेरिका जाने मनस्थितिमा रहेको भन्ने विषयलाई थप मलजल पुगेको छ ।

राष्ट्रपतिको लञ्च मिटिङमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालसहित परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, अर्थमन्त्री डा युवराज खतिवडा, पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे, वनमन्त्री शक्ति बस्नेत, कृषिमन्त्री घनश्याम भुसाल, ऊर्जामन्त्री वर्षमान पुन, संसदीय दलका प्रमुख सचेतक देव गुरूङ, पूर्वगृहमन्त्री जनार्दन शर्मा र नेता देवेन्द्र पौडेल सहभागी थिए । उनीहरूसँग राष्ट्रपतिले पछिल्लो राजनीतिक घटनाक्रमका बारे जिज्ञासा राखेकी थिइन् ।

यस घटनालाई प्रधानन्त्री ओलीको इशारामा राष्ट्रपति भण्डारीद्वारा कार्यकारी राष्ट्रपतिको अभ्यास आरम्भ गरिएको सङ्केतको रूपमा बुझ्न सकिन्छ ।

सम्बन्धित समाचार