चिसोका कारण रौतहटमा चारजनाले ज्यान गुमाएका छन् । पुस १ देखि सुरु भएको शीतलहरको कारण अत्याधिक चिसोबाट कठ्याँग्रिएर मृत्यु भएको हो। दुर्गा भगवती गाउँपालिका–५ बडहर्वाका ६७ वर्षीय विलास सहनी र ६९ वर्षीय जनकदास तत्माको गत आइतबार मृत्यु भएको हो ।
यसअघि पुस ३ मा गुजरा नगरपालिका–२ का ५४ वर्षीया गिरीजाकुमारी बैठा र ७० वर्षीय बनहु माझीको मृत्यु भएको हो। बैठा र माझीको चन्द्रनिगाहपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । रौतहटका प्रमुख जिल्ला अधिकारी किरण थापाले जिल्लामा चिसोका कारण चारजनाको मृत्यु भएको जानकारी आएको बताएका छन् । तर, यसबारे मेडिकल रिपोर्ट भने नआएको उनको भनाइ छ।
जिल्ला अस्पताल रौतहटका डा। कृष्ण साह भने पोष्टमार्टमबाट चिसोको कारण मृत्यु भएको रिर्पोट जिल्ला अस्पतालले दिन बताउँछन्। यसका लागि काठमाडौंस्थित त्रिवि टिचिङ अस्पतालमा मात्र पोष्टमार्टम हुने डा। साहको भनाइ छ। अत्यधिक चिसोको कारण विभिन्न रोगहरुले च्याप्ने गर्दा पनि मृत्यु हुने उनले बताए।
विगतका वर्षहरुमा चिसोका कारण ज्यान गुमानेलाई सरकारले राहत दिँदै आएको थियो । प्रमुख जिल्ला अधिकारी थापाले चिसो मौसममा बाहिर ननिस्कन तथा आगोको सहारा एवं न्यानो लुगा लगाएर बस्न आग्रह गरेका छन्।