एक नाबालिकासहित तीनजनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ ।
अर्नमा गाउँपालिका–५ ९तत्कालीन सिरहा कृष्णपुर गाविस–८० का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उनकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार सिरहा नगरपालिका–२० लगडीगडियानी का ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सहनीलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराका अनुसार पक्राउ परेका हिरवा सहनीले विसं २०४४ पुस १३ गते अर्नमा गाउँपालिका–५ स्थित आफ्नै घरमा रहेका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरेको तथा सिरहा नगरपालिका–१९ स्थित गागन खोलामा ६ महिनाकी नातिनीको हत्या गरेका थिए ।
मृतकका बुबा जगदेव यादवले जिल्ला अदालत सिरहामा सहनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेका थिए । सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सिरहाले सहनीलाई दोषी ठहर गर्दै दुवै दाजुभाइको हत्या अभियोगमा १० वर्ष र नबालिकाको हत्या अभियोगमा २० वर्ष गरी ३० वर्ष कैद सजायको फैसला भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए ।