प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री ओलीलाई भेट्न देउवा प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । देउवासँगको भेटमा नेकपाका अर्का अध्यक्ष पुष्प कमल दाहाल प्रचण्ड पनि सँगै थिए ।
सत्तारुढ दलका दुई अध्यक्षसहित प्रतिपक्षी दलका नेताले समसामयिक राजनीतिक घटनाका बारेमा छलफल गरेका थिए ।
यो भेट नियमित भएको भन्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष ओली, अर्का अध्यक्ष दाहाल र प्रमुख प्रतिपक्षी दलका नेता देउवाबीचको भेटमा समसामयिक राजनीतिक विषयमा विचारविमर्श भएको बताए ।
समाजवादी पार्टी सरकारबाट बाहिरिएलगत्तै प्रधानमन्त्रीले प्रमुख प्रतिपक्षी दलका सभापतिलाई भेट्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा ओली -प्रचण्डले देउवालाई पनि सरकारमा सहभागि हुन आग्रह गरेको स्रोतको दाबी छ ।
साथै प्रदेश नम्मर २ मा नयाँ सरकार गठनको विषयमा पनि देउवासँग छलफल भएको थियो । प्रदेश नम्मर २ मा समाजवादीको नेतृत्व रहेको छ । सरकारबाट बाहिरिएसँगै प्रदेश २ मा पनि सत्ता समीकरणमा फेरबदल आउने निश्चित छ । कुल १०७ सदस्य रहेको प्रदेशसभामा नेकपा ३२, समाजवादी ३०, राजपा २५, नेकां १९ र रिजवान अन्सारी नेतृत्वको पार्टीसँग १ सिट छ ।
सरकारबाट बाहिरिएलगत्तै समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले कांग्रेस र राजपा नेपालसँग मिलेर सरकारविरुद्ध आन्दोलन गर्ने बताएका थिए । संविधान संशोधनलगायतका दुई बुँदे माग पूरा नगरेको भन्दै समाजवादी पार्टीले सोमवारबाट सरकार छोडेको छ । अध्यक्ष यादवले भने सरकारको समर्थनपनि फिर्ता गरेर संघर्षमा जाने घोषणा गरेका छन् ।
कांग्रेस समाजवादीसँग मिलेर आन्दोलनमा नजाओस् भनेर ओलीले देउवासँग भेटवार्ता गरेको स्रोतकाे दाबी छ ।