थम्मन थापा
बागलुङ, ९ पुस ।
पौष दोस्रो हप्ता गलकोट नगरपालिका ७ मल्म आँगाखेतमा बृहत् आँखा शिविर हुँदै छ । अहिले शिविरको लागि आवश्यक तयारी भइरहेको छ । न्यू नवज्योति युवा क्लवको आयोजना, सिर्जनशील महिला समूह आँगाखेत र चिसापानी आमा समूह बामियाको व्यवस्थापन तथा गलकोट नगरपालिका वडा नं ७ को समन्वयमा उक्त शिविर सञ्चालन हुन लागेको हो ।
ग्रामीण क्षेत्रका जनताको आँखाको समस्यालाई मध्यनजर गरी बृहत् आँखा शिविर गर्न लागिएको न्यू नवज्योति युवा क्लवका महासचिव रुद्र केसीले जानकारी दिए । पौष १६ गतेदेखि १८ गतेसम्म मल्म स्वास्थ्य चौकी आँगाखेतमा सञ्चालन हुने आँखा शिविरमा नाम दर्ताको लागि रु २ सय लाग्नेछ भनें अन्य सबै काम निःशुल्क हुनेछ ।
शिविरमा निःशुल्क आँखा चेकजाँच, निःशुल्क आँखा अप्रेशन, मोतिया बिन्दु, जलविन्दुको निशुल्क अप्रेशन र डाक्टरको सल्लाह बमोजिम आवश्यकताअनुसार निःशुल्क चश्मा वितरण गरिने क्लवका महासचिव केसीले बताए ।
शिविर सफल पार्न सोमबार अन्तरक्रिया कार्यक्रम गरिएको थियो । वडा सरकार, अग्रणी सामाजिक संस्था घुम्टे युवा परिवार, सिर्जनशील महिला समूह र चिसापानी आमा समुहबीच अन्तरक्रिया गरिएको हो । अन्तरक्रियामा प्रचार प्रसार, आर्थिक व्यवस्थापन, शिविर स्थल व्यवस्थापन, डक्टरहरूको लागि भोजन तथा अन्य व्यवस्थापन अन्य आवश्यक व्यवस्थापकिय पक्षको बारेमा छलफल गरिएको थियो ।
शिविरको लागि क्लवले झण्डै रु ६ लाख रुपैयाँ खर्च गर्न लागेको कोषाध्यक्ष टेकनाथ गौतमले जानकारी दिए । ग्रामीण क्षेत्रका जनतालाई आफ्नै घर आँगनीमा निःशुल्क आँखा अप्रेशन, औषधी र चश्मा उपलब्ध गराउने गरी शिविर सञ्चालन गर्न लागिएको कोषाध्यक्ष गौतमले बताए ।
क्लवले शिविरमा उपस्थित भई आफनो आँखा चेक जाँच गरी स्वास्थ्य लाभ लिन क्लवले सम्बन्धित सबैमा अपिलसमेत गरेको छ ।