सभामुख चयनमा सकस : यी हुन् आकांक्षी

प्रतिनिधिसभाको सभामुख कसलाई बनाउने भन्ने विषयमा सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अझै निर्णाय लिन सकेको छैन । शुक्रबारको बैठकपूर्व नै सभामुखको उम्मेदवार टुंगो लगाउने नेकपाको प्रयास बुधबारसम्म पनि टुंगोमा पुग्न सकेको छैन । तत्कालीन सभामुख कृष्णबहादुर महरा बलात्कार मुद्दामा मुछिएदेखि सुरु भएको नयाँ सभामुखको बहस हिउँदे अधिवेशन सुरु हुँदा पनि निष्कर्षमा पुग्न सकेको छैन ।

तर, यसबीचमा भावी सभामुखका लागि केही नाम चर्चामा रहे । सभामुख चयनका केही विकल्पमा सत्तारूढ नेकपाको नेतृत्व तहमा छलफल चलेको छ । नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पटकपटक भएका भेटवार्तामा सभामुखको उम्मेदवार कसलाई बनाउने भन्ने विषयमा सहमति जुट्न सकेको छैन। नेकपाभित्र सभामुखको दाबी प्रस्तुत गरिरहेका नेताहरूले आआफ्नो सम्भावना बढी भएको निकटस्थ नेतालाई बताउँदै आएका छन् ।



पार्टी अध्यक्षद्वयले भने सबै नेतालाई चित्त बझाउने गरी निर्णय लिने प्रयास गरिरहेका छन्। बुधबारसम्मको राजनीतिक भेटघाट र घटनाक्रमले सभामुखमा सुभाषचन्द्र नेम्वाङ र अग्नि सापकोटाको दाबीलाई शीर्षस्थानमा राखेर बहस हुन थालेको छ । यसअघि पनि पूर्वमाओवादीको भागमा परेकाले अबको सभामुख पूर्वमाओवादीबाट बनाउने विषयमा प्रधानमन्त्रीले सकारात्मक देखिएको पूर्वमाओवादी निकट एक नेताले बताए ।

तर पनि प्रधानमन्त्रीले सरकारलाई सहयोग गर्ने व्यक्तिलाई सभामुख बनाउनुपर्ने तर्क अर्का अध्यक्ष दाहाललाई बताउँदै आएका छन् । यस्तै, पूर्वमाओवादीका प्रभावशाली नेताहरू नारायणकाजी श्रेष्ठ, देव गुरुङ, रामबहादुर थापा, वर्षमान पुन, अग्नि सापकोटा, जनार्दन शर्मा, पम्फा भुसाल, मातृका यादवले उनीसँग भेटेर यसबारे आफ्नो मत राखेका छन् । दाहालसँग भेटेर सभामुख नछाड्न लबिङ गर्नेमध्ये तीन नेता अग्नि सापकोटा र पम्फा भुसाल स्वयं सभामुखका आकांक्षी पनि हुन् ।

उनीहरूको सुझाव कार्यान्वयन भयो भने सापकोटा सभामुखका रूपमा देखिनेछन् । यता सभामुख पद रिक्त भइसकेपछि प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीले नेम्वाङलाई सभामुख बनाउन चाहेका छन् । नेम्वाङ आफैंले पनि उक्त पदका लागि तीव्र चाहना व्यक्त गरेका छैनन् । ओलीको चाहानाअनुसार हुने भएमा नेम्वाङ सभामुखका लागि सबैभन्दा शक्तिशाली उम्मेदवार हुन् ।

प्रतिनिधिसभाकी उपसभामुख शिवमाया तुम्बाहाम्फे सभामुख बन्ने स्वभाविक लबिङमा छिन् । उनले उपसभामुखका रूपमा अनुभव हासिल गरिसकेकाले सभामुख बन्ने चाहना देखाएकी छन् । यही कारण केही समयअघि भएको मन्त्रिमण्डल पुनर्गठनमा मन्त्री बन्ने प्रस्ताव आउँदा उनले अस्वीकार गरिन्, यो खबर राजधानी दैनिकमा छापिएको छ।

सम्बन्धित समाचार