आज बोलाइएको संसद बैठक स्थगित, कहिले बस्ला अर्को बैठक ?

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र सभामुख उम्मेदवार तय गर्न सहमति हुन नसक्दा नयाँ सभामुख निर्वाचनका लागि संसद सचिवालयले तयार गरेको कार्यतालिका प्रभावित भएको छ ।

नेकपाले निर्णय गर्न नसक्दा शुक्रवार दिउँसो १ बजेका लागि बोलाइएको बैठक सूचना टाँसेर स्थगित गरिएको छ । संघीय संसदका महासचिव मनोहर भट्टराई सूचना टाँस गर्दै ‘विशेष कारणवश’ बैठक स्थगित भएको जनाएका छन् ।



हिउँदे अधिवेशनको पहिलो दिन पुस ४ गते छोटो समयमा लागि बसेको प्रतिनिधि सभाको बैठक सभामुख निर्वाचनको गृहकार्यका लागि भन्दै शुक्रवारसम्मका लागि स्थगित भएको थियो । सत्तारुढ नेकपाले उम्मेदवार तय गर्न नसक्दा शुक्रवारको बैठक सूचनामार्फत १६ गते बुधवारसम्मको लागि स्थगित गरिएको सचिवालयले जनाएको छ ।

शुक्रवारको बैठकबाट सभामुख निर्वाचनको कार्यतालिका प्रकाशित गर्ने गरी सचिवालयले निर्वाचनको सम्भावित कार्यतालिका तयार गरेको थियो । आइतवार उम्मेदवारी मनोनयनको समय राखेर सोमवारको बैठकबाट सभामुख निर्वाचन गर्ने गरी सचिवालयले तयार गरेको थियो ।

सम्बन्धित समाचार