नेपाली कांग्रेसले १४ औंं महाधिवेशनको मिति तोकेको छ । पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले १४ औंं महाधिवेशन २०७७ सालको फागुनमा गर्ने निर्णय गरेको हो । वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्ण सिटौलाले शुक्रबारको बैठक बहिष्कार गरे पनि सभापति शेरबहादुर देउवाले १४ औं महाधिवेशनको मिति घोषणा गरेका हुन् ।
तय गरिएको मिति अनुसार महाधिवेशन २०७७ साल फागुन ७ गतेदेखि १० गतेसम्म काठमाडौंमा हुनेछ । यस्तै बैठकले कांग्रेसका विभागहरुलाई २८ बाट ४१ पुर्याउने निर्णयसमेत गरेको छ ।
यसअघि संस्थापन पक्षले आफूखुसी विभाग गठन लगायत प्रस्ताव ल्याएको र महाधिवेशन पर धकेल्ने प्रयास गरिरहेको भन्दै वरिष्ठ नेता पौडेल पक्षले असुन्तुष्टि जनाउँदै आएको थियो । नेता पौडेल पक्षका नेताहरुले केन्द्रीय कार्यसमितिको बैठकमा भाग लिने नलिने विषयमा बिहान छलफल गरेपछि बैठकमा भने सहभागी नभएका हुन् ।
संस्थापन पक्षले महाधिवेशन अघि विभिन्न विभाग गठन तथा भ्रातृ संगठनमा तदर्थ समिति बनाउने तयारी गरेपछि वरिष्ठ नेता पौडेल पक्षले पनि सम्मानजनक हैसियत पाउनुपर्ने माग गर्दै आएको छ ।
यसैबीच शुक्रबारको बैठकले तरुण दलको कार्यकाल चुनावका लागि ६ महिना थप्ने निर्णय गरेको छ । यसअघि जितजंग नेतृत्वको कार्यकाल सकिएपछि अब कसरी अगाडि बढाउने भन्ने अन्योल कायम थियो । बैठकले एमसीसी पारित गर्न सरकारसँग आग्रह गर्ने तथा नेपाल ट्रष्टको सम्पत्ति दुरुपयोग भएकोबारे सरकरको ध्यानाकर्षण गराउने निर्णय पनि गरेको नेपाली कांग्रेसले जनाएको छ ।