देउवाविरूद्ध पौडेल र सिटौलापक्ष एक भए

काँग्रेस सभापति शेरबहादुर देउवा बहुमतबाट अघि बढ्न थालेपछि उनीविरुद्ध संस्थापनइतर पक्ष गोलबद्ध बनेका छन्। देउवाले शुक्रबारको केन्द्रीय कार्यसमिति बैठकबाट बहुमतका आधारमा महाधिवेशनको कार्यतालिका तोक्ने र केन्द्रीय कार्यसमितिको कार्यकाल थप्नेलगायतका महत्त्वपूर्ण विषयमा निर्णय लिएका थिए ।

महामन्त्री शशांक कोइरालाको महाराजगञ्जस्थित निवासमा शनिबार बसेको संस्थापनइतर नेताहरुको बैठकले देउवाको पछिल्लो कदमविरुद्ध एकताबद्ध भएर अघि बढ्ने निर्णय गरेको छ । गृहजिल्ला झापाको कार्यक्रममा रहेका कृष्णप्रसाद सिटौलाले पनि देउवाविरुद्धको गोलबन्दीमा साथ दिने जनाएका छन् ।



उनलाई साथ दिँदै आएका केन्द्रीय सदस्यहरु गगन थापा र प्रदीप पौडेल बैठकमा सहभागी थिए । महराजगञ्ज बैठकपछि वरिष्ठ नेता पौडेलले परम्परा, विधि र विधानविपरीत गरिएका निर्णयहरु सच्याउनपर्ने बताए ।

बहुमतको नाममा एकलौटी ढङ्गले अगाडि बढ्न खोजेकाले अब नेतृत्वसँग संवाद नगर्ने वरिष्ठ नेता रामचन्द्र पौडेलले बताएको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ । ‘हाम्रा कुरा स्पष्टसँग राखेका छौँ । हामी सभापतिज्यूसँग कुरा गर्न जाँदैनौँ । देशभरका नेताकार्यकर्तासँग संवादमा छौँ,’ पौडेलले भने, ‘हामी कम्युनिस्ट सरकारलाई धेरै मत ल्यायौँ भन्दैमा संवैधानिक निकायमा मनपरी कहाँ गर्न पाइन्छ भनेर शेरबहादुर देउवाजी कै नेतृत्वमा सरकारलाई खबरदारी गरिरहेका छौँ । तर, यहाँ बहुमत छ भन्दैमा एकलौटी निर्णय कसरी भइरहेका छन् ? प्रश्न उठेका छन् ।’

सम्बन्धित समाचार