जनताको मन खुम्चने गरी हामी काम गर्दैनौं : मन्त्री बाँस्कोटा

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले ‘मागपत्र’ बोकेर विकासे अड्डा धाउने युगको अन्त्य भएको बताएका छन्। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–१ खहरेपाँगुमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)द्वारा नवनिर्मित चेतना माध्यमिक विद्यालयको भवन उद्घाटन कार्यक्रममा उनले जनताको आवश्यकता र चाहनाअनुसार तीनै तहका सरकार विकासको महाअभियानमा भएकाले ‘मागपत्र युग’को अन्त्य भएको बताए ।

उनले भने, “अब स्थानीय नेता र जनता मागपत्र बोकेर विकासे अड्डा धाउनु पर्दैन, गाउँमै सरकार छ, सरकारले स्थानीय आवश्यकताअनुसार काम गर्छ ।” मन्त्री बाँस्कोटाले अस्पताल, सडक, बिजुली, खानेपानी, कुलो, विद्यालय र शिक्षक चाहियो भनेर जिल्ला शिक्षा कार्यालय मागपत्र बोकेर धाउने युगको अन्त्य भएको बताए । उनले वर्तमान सरकारको पहिलो वर्ष योजनाको वर्ष, दास्रो वर्ष शिलान्यासको वर्ष र तेस्रो वर्षदेखि उद्घाटनको वर्ष रहेको धारणा राखे । “जनताको मन खुम्चने गरी हामी काम गर्दैनौं”, उनको जिकिर थियो ।



मन्त्री बाँस्कोटाले मागपत्र बुझाउन गणतन्त्र नभएको दोहोर्याउनुभयो । “विकास निर्माण जनताका अधिकार हो, गणतन्त्र त्यसका लागि हो, मागपत्र बुझाउन होइन”, उनले भने । सरकारको लक्ष्य देश विकास–समृद्धिमार्फत जनतालाई सुखी र खुशी बनाउने रहेको उनको भनाइ थियो ।

मन्त्री बाँस्कोटाले प्रधानमन्त्रीको ‘समृद्ध नेपाल : सुखी नेपाली’ र स्वाधीन नेपाल निर्माणमा योगदान पुर्याउन सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए ।

सम्बन्धित समाचार