प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले सूचना प्रविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बहुमतले पारित गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाल कांग्रेसको असहमतिका बाबजुद आइतबार बसेको समिति बैठकले विधेयक पारित गरेको हो ।
समितिमा सदस्य रहेका नेकपाका सबै सांसदले विधेयकको पक्षमा मत दिए । कांग्रेसका सांसदहरूले भने असहमति जनाएका हुन् । तर समिति सभापति कल्याणीकुमारी खड्काले विधेयक बहुमतले पारित भएको र कांग्रेसले राखेको फरक मत बहुमतले अस्वीकार गरेको घोषणा गरिन् ।
कांग्रेस सांसद बहादुरसिंह लामाले उक्त विधेयक जस्ताको तस्तै पारित भएमा जनताको अभिव्यक्ति स्वतन्त्रता हनन हुने बताएका थिए ।
सामाजिक सञ्जाल फेसबुक, गुगललगायत कार्यालय नेपालमा दर्ता गर्नुपर्ने विधेयकमा व्यवस्था छ ।