अर्को चुनावमा नेकपा एक्लैको दुईतिहाइ बहुमत आउछः प्रचण्ड

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो भूमि एक इन्च पनि नछाड्ने बताएका छन् । अध्यक्ष प्रचण्डले भारतले नेपाली भूमि मिच्दा आफूहरु हेरेर नबस्ने बताए। ‘भारतले हालै जारी गरेको नयाँ नक्सामा हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायतको जमिन उसको नक्सामा समावेश गरेका छु, उनले भने, ‘त्यसलाई हेरेर मात्रै बस्दैनौँ। नेपाली भूमि फिर्ता लिन नेपाल सरकारले कुटनीतिक पहल थालेर समाधानको बाटो खोजिरहेको छ।’

आइतबार चितवनको इच्छाकामना गाउँपालिकामा सपथ ग्रहण कार्यक्रममा पुगेका प्रचण्डले सीमा विवादको बिषय उठेको बेलामा कालापानीबाट भारतीय सेना हटाउने अवसर समेत प्राप्त भएको जनाए । यस्तै दाहालले सरकारले जनताको पक्षमा काम गरिरहेको पनि औल्याए। ‘केही समय पार्टी र सरकारले जनताको पक्षमा काम गर्न सकेको थिएनु, उनले भने, ‘अब सरकार र पार्टी दुवै जनताको काममा फर्केको छ।’



सरकार र पार्टीको कामबाट आगामी चुनावमा नेकपा एक्लैले दुईतिहाइको बहुमत ल्याउने दाबी उनले गरे । ‘हालै भएको उपनिर्वाचनमा नतिजा राम्रो आए पनि केहि ठाउँमा नसोजेको हार व्यहोरेका छौँ’, उनले भने, ‘त्यस बिषयमा पार्टीको ध्यान केन्द्रित भएको छ । त्यो समस्या समाधान हुन्छ ।’ पार्टीले तत्लो तहसम्म जाने रणनीति तयार पारेको हुनाले पार्टीको गतिविधिलेसमेत तीव्रता पाउने उनले उल्लेख गरे । यस्तै, विकास निर्माणको काममा पनि सरकार सफल हुँदै गएको उनले जिकिर गरे।

सम्बन्धित समाचार