कांग्रेस सभापति शेरबहादुर देउवा पार्टीभित्र चर्किंदै गएको विवाद मत्थर बनाउन आफूनिकट नेताहरूसँग छलफलमा जुटेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले बहुमतका आधारमा गरिएका निर्णय सच्याउन दबाब दिइरहेका बेला देउवाले आफूनिकट नेताहरूसँग परामर्श थालेका हुन् ।
देउवासहित आइतवार संस्थापन पक्षका नेताहरूसँग करिब चार घण्टा छलफल गरे । छलफलमा नेताहरूले पार्टीको विभाग, नेविसंघ र तरुण दलको कार्यसमिति गठन तथा विस्तार गर्दा पौडेल र सिटौला पक्षलाई समेटेर लैजाने सहमति गरेका छन् ।
राष्ट्रिय सभाको निर्वाचनसम्बन्धी छलफलका लागि पुस १७ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाउने र त्यसअघि वरिष्ठ नेता पौडेलसहितको उपस्थितिमा पदाधिकारी बैठक बोलाउने पनि तय भएको छ ।