‘नेपाल भ्रमण वर्ष २०२०’ सफल बनाउन जुट्यो काठमाडौं महानगर

काठमाडौं महानगरपालिकाले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सफल बनाउन महानगरको सौन्दर्य अभिवृद्धिमा सक्रियता बढाएको छ । अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँमा नै रहेको अर्थात पहिलोपटक विदेशी पर्यटक आएर काठमाडौंलाई नै अवलोकन गर्ने भएकाले पनि यहाँको सौन्दर्यलाई विशेषरूपमा लिएको कामपाले जनाएको छ । नेपाल आउने पर्यटकमध्ये ९० प्रतिशत हवाईमार्ग भएर आउने गर्दछन् ।

हाल कामपाले तार व्यवस्थापन, सम्पदामा रङरोगन गर्ने र अन्य सरसफाइको काम तीव्ररूपमा गरिरहेको छ । त्यस्तै शहरलाई कुरूप बनाई राखिएको विभिन्न किसिमका विज्ञापन हटाउनका लागि पनि कामपाबाट दैनिक चार टोली खटिएको छ । शहरको मुख्य स्थानमा विज्ञापन हटाउने कार्य सकिसकेको छ ।



काठमाठौंको मुख्य पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा यतिबेला तार व्यवस्थापनको कार्य सकिइसकेको छ भने अन्य स्थानमा पनि यस किसिमको काम भइरहेको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ठमेलबाट मात्रै अव्यवस्थित रूपमा रहेको १६ गाडी तार व्यवस्थापनको कार्य सकिएको छ ।

प्रमुख शाक्यले भने, “काठमाडौंलाई सुन्दर बनाउने प्रमुख दायित्व कामपाको नै हो त्यसैले सोहीअनुरूप काम भइरहेको छ, । प्रमुख शाक्यले सम्बन्धित सबै वडाका वडाध्यक्षलाई सरसफाइ गरी पाहुनालाई स्वागत गर्न तयार रहन निर्देशन दिइसकेका छन् ।

सम्बन्धित समाचार