जनवरी १ मा मनाऔं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस : विज्ञप्ति

नेपाली टोपी प्रतिष्ठानले एक विज्ञप्ति प्रकाशित गरी आगामी पौष १६ गते अर्थात् जनवरी १, २०२० का दिन सातौं अन्तर्राष्ट्रिय टोपी दिवश बनाउन आग्रह गरेको छ । नेपाली ढाका टोपीका सन्दर्भमा उठेका कतिपय असान्दर्भिक प्रसङ्गको खण्डन गर्दै ढाका टोपी नेपालीहरूको मौलिक पहिचान भएकोले संसारभरि छरिएका नेपालीहरूलाई उक्त दिन आ–आफ्नो स्थान र अवस्थाअनुसार टोपी लगाई टोपी दिवश स्थापित गराउन तथा टोपीलाई अन्तर्राष्ट्रिय पहिचान बनाउनसमेत आग्रह गरिएको छ ।

विज्ञप्तिमा डा. लेखनाथ काफ्ले तथा शङ्कर बञ्जाडेको विशेष पहलमा गैर नाफामूलक संस्था ‘नेपाली टोपी प्रतिष्ठान’ पनि गठन भइसकेको, जिल्लाहरूमा यसका शाखाहरू खुलिसकेका र विश्वका ३९ मुलुकहरूमा पनि अन्तर्राष्ट्रिय शाखाहरू खुलेको उल्लेख गरिएको छ ।



‘यस वर्ष हामीले सातौं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउन गइरहेका छौं । नेपाली टोपी दिवसलाई जनवरी १ तारिखका दिन मनाउनुको प्रमुख उद्देश्य सो दिनलाई नेपाली टोपी दिवसको रूपमा स्थापना गर्ने तथा नेपाली टोपीलाई विश्वभर फैलिएका नेपाली नागरिक एवं नेपालीमूलका नागरिकहरूको अन्तर्राष्ट्रिय पहिचानका रूपमा स्थापित गराउनु रहेको छ’ विज्ञप्तिमा भनिएको छ ।

सम्बन्धित समाचार