नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुष ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सभामुख कसलाई बनाउने भन्ने ठोस निर्णय गर्न सकेको छैन । पुस ११ गतेका लागि बोलाइएको संसद् बैठक पनि नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्दा अन्तिम समयमा आएर सूचना टाँसेर स्थगित गरिएको थियो । अर्को बैठक पुस १६ गते बस्नेछ । तर बैठक बस्ने समयको एक दिन अगाडि समेत यसबारे निर्णय हुन सकेको छैन । नेकपाले सभामुखको निर्णय लिन नसक्दा बुधवार बस्ने भनिएको संसद् बैठक फेरि पनि स्थगित हुने सम्भावना बढेको छ ।
राष्ट्रपतिको दवाव
स्रोतका अनुसार नेकपाले सभामुखको टुङ्गो लगाउन नसक्नुमा राष्ट्रपति विद्या भण्डारीको दवावले काम गरेको छ । गत पुस १० गते बेलुका ओली प्रधानमन्त्रीको हैसियतमा राष्ट्रपतिलाई भेट्न र सरकारका कामकारबाही बारे ब्रिफिङ गर्न शीतल निवास पुगेका बेला राष्ट्रपतिले शिवमाया तुम्वाहाम्फेलाई नै सभामुख बनाउन दवाव दिएकी थिइन् । । कुराकानीकै क्रममा ओलीले सभामुखका लागि उपयुक्त पात्र सुवासचन्द्र नेम्वाङ रहेको सुनाएका थिए । तर राष्ट्रपति विद्यादेवी भण्डारीले नै शिवमाया तुम्वाहाम्फेको पनि नाम पनि चर्चामा आएको बारे जिज्ञासा राखेकी थिइन् ।
‘शिवमायालाई सभामुख बनाउँदा के हुन्छ ? उहाँ डाक्टर पनि हो र महिला पनि । तपाईंलाई पनि सहयोग गर्नुहुन्छ । महिलालाई यसरी किनारा लगाउन उचित हुँदैन होला’ राष्ट्रपतिको भनाइ उदृत गर्दै स्रोतले भन्यो । जवाफमा ओलीले सुवास नेम्वाङ अनुभवी भएको र विपक्षीलाई पनि कन्भिन्स गर्नसक्ने क्षमता भएकोले उनी नै उपयुक्त हुन्छ जस्तो लागेको बताएका थिए ।
प्रचण्डको युटर्न
सभामुख चयनमा राष्ट्रपतिबाट दवाव आएको सुईको पाएपछि प्रचण्डले पनि युटर्न लिएका छन् । नेम्वाङलाई सभामुख बनाउन कन्भिन्स भैसकेका उनले राष्ट्रपतिको दवाव आएको बुझेपछि पूर्व माओवादीको खातामा रहेको सभामुख पूर्व माओवादीले नै पाउनुपर्ने भन्दै अग्नी सापकोटालाई अगाडि सारेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई अनावश्यक स्पेस दिएको भन्दै प्रचण्ड पनि नेम्वाङलाई सभामुख बनाउने सहमतिबाट पछि हटेका हुन् । ओलीको अडान, प्रचण्डको युटर्न र राष्ट्रपतिको दवावले भोलि बस्ने भनिएको संसद बैठक पनि स्थगित हुने सम्भावना बढेको छ ।