नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ पुस ।
सर्लाहीका उखु किसानहरू शुक्रबारदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् । उखु बिक्री गरेवापत चिनी उद्योगबाट भुक्तानी नपाएपछि किसानहरू शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा धर्नामा बसेका हुन् ।
भुक्तानी गर्न पटक पटक दबाब दिए पनि किसानहरूको पैसा ठगी गर्ने नियतले मिल सञ्चालकहरूले भुक्तानी नदिएको हुनाले आफूहरूले बाध्य भएर आन्दोलनमा होमिनु परेको किसानहरूले बताएका छन् । सर्लाहीको अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको र सरकारले दिने अनुदान पनि आफूहरूले अहिलेसम्म नपाएको किसानहरूले दाबी गरेका छन् ।
उखु किसानहरूले आफ्ना मागहरू पूरा नभएसम्म आन्दोलन जारी राख्ने, उखु पनि नकाट्ने र मिलहरू कुनै पनि हालतमा चल्न नदिने चेतावनी दिएका छन् । मिलहरूले अहिले आफू खुसी मूल्य तोक्ने गरेको भन्दै किसानहरूले उखुको मूल्य पनि सरकारले तोकेअनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् ।