उद्धव सिलवाल
काठमाडौं, १६ पुस ।
आज अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको औपचारिक उद्घाटन गर्ने कार्यक्रम रहेको छ भने प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । भ्रमण वर्षको औपचारिक शुभारम्भ समारोहमा सहभागी हुन छिमेकी मुलुक भारत, चीनसहित विभिन्न देशका पर्यटनमन्त्री तथा विशिष्ट पाहुनाहरू काठमाडौं आइसकेका छन् ।
भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष्य रहे पनि यो लक्ष्य हासिल गर्न ८ लाख पर्यटक थप गर्नुपर्छ । भ्रमण वर्षका लागि पूर्वाधार निर्माण र प्रवद्र्वनको गति कमजोर देखिएको छ । ६ वर्षयताको पर्यटक आगमन दरको अध्ययन गर्दा सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने कार्य त्यति सहज देखिंदैन । अध्यागमन विभागको तथ्याङ्क अनुसार सन २०१९ को ११ महिनामा १० लाख ९७ हजार ५ सय पर्यटक नेपाल आएका देखिन्छन् । यो संख्या गत वर्षभन्दा ९५ हजार ६ सय १७ बढी हो । आगमन वृद्धिदर ८ प्रतिशत मात्रै देखिएको छ । यही अनुपातलाई लिने हो भने सन २०२० मा १३ लाख ५० हजार पर्यटक मात्र आउने देखिन्छ ।
सरकारले दशवर्षे पर्यटन रणनीति लागु गरेको ४ वर्ष भैसकेको छ । राज्यको रणनीतिमा भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१८ मा र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन २०१९ को शुरुमै सञ्चालनमा आउने उल्लेख थियो । सडकहरू चुस्त–दुरुस्त हुने तथा द्रुतमार्गसमेत सञ्चालनमा आउने सरकारले लिएको लक्ष्य कागजको डुङ्गा जस्तो मात्रै भएको छ । काठमाडौंको सडक धुलाम्मे र जटिल अवस्थमा रहेको छ । बढ्दो ट्राफिक जामको कारण पर्यटक आवागनमा समस्या देखिएको छ । सडकमार्गबाट पोखरा, लुम्बिनी तथा चितवन जान समेत सास्ती बेहोर्नुपर्ने अवस्था विद्यमान रहेको छ ।
नेपालको बारेमा प्रचार प्रसार हुन नसक्दा सन २०१९ मा हवाई यात्रु गत वर्षभन्दा २ लाख कम आएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । त्यसो त भ्रमण वर्षका लागि ६५ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारले पर्यटन क्षेत्रबाट कुल ग्राहस्थ्य उत्पादनमा १० प्रतिशत योगदान पु¥याउने लक्ष्य राखेको छ । हाल जिडिपीमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्रै रहेको छ । अपेक्षा गरे अनुसार पर्यटक आए भने नेपालमा राख्ने होटल क्षेत्रको समेत अभाव हुने देखिएको छ । होटेल संघ नेपाल (हान) का अनुसार होटेलको संख्या २ हजार ५ सय रहेका छन । त्यसो त त्रिभुवन विमानस्थलको अहिलेको क्षमताले २० लाख पर्यटक धान्न सक्ने अवस्थासमेत छैन । गौतम बुद्ध विमानस्थल सञ्चालनमा ल्याउन सकिएको भए धेरै कुरा सहज हुने थियो । भ्रमण वर्ष भनेको जनवरीदेखि शुरु भएर डिसेम्बरमा सकिने नभई यसलाई पर्यटक आकर्षित गर्ने योजनाको रूपमा लिनु सान्दर्भिक हुनेछ ।
नेपाल भ्रमण वर्ष–२०२० को सफलता भनेकै हाम्रा मूल्य–मान्यता, परम्परा, संस्कृति, कला, संगीत, मठ–मन्दिर र चैत्य गुम्बाजस्ता मौलिक पहिचानको सदैव प्रवद्र्धन र सम्बद्र्धन गर्दै जानु रहेको छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाले पर्यटन क्षेत्रमा सवा खर्ब रुपैयाँ ऋण लगानी गरेका छन् । यो गत कात्तिकसम्म पर्यटन र होटल क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले गरेको लगानी हो । जसमध्ये चालु वर्षको चार महिनामा मात्र यो क्षेत्रमा थप साढे ९ अर्ब रुपैयाँ लगानी विस्तार भएको छ । यो भ्रमण वर्ष २०२० को आसपासमा गरिएको लगानी हो । भ्रमण वर्षका कारण पछिल्ला महिनामा यो क्षेत्रमा लगानी बढेको देखिन्छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार गत कात्तिकसम्म पर्यटन क्षेत्रमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २३ अर्ब ७४ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । गत आवको सोही अवधिमा यस्तो लगानी ९५ अर्ब ८५ करोड रुपैयाँ थियो । होटल, ट्रेकिङ, रिसोर्टलगायत क्षेत्रबाट ऋणको माग बढेको, निश्चित प्रतिशत रकम पर्यटन क्षेत्रमा प्रवाह गर्नुपर्ने राष्ट्र बैंकको निर्देशनलगायत कारण यो क्षेत्रमा वित्तीय संस्थाको लगानी बढेको अनुमान गरिएको छ ।
भ्रमण वर्षलाई सफल बनाउने हो भने बाह्रैं महिना पर्यटक ल्याउने वातावरण सिर्जना गर्न सक्नुपर्छ । विमानस्थलको स्तरोन्नति पनि आफ्नै ठाउँमा रहेको छ । साहसिक पर्यटकीय गतिविधि, बन्जीजम, प्याराग्लाइडिङ जस्ता विषयमा विकास हुन सकेको देखिंदैन । नेपालको आकाश विश्वकै महङ्गो आकशमा पर्ने गर्छ । नेपाल आउने प्लेन टिकट विश्वकै महङ्गो गन्तव्यका रूपमा रहेको छ । यस्तो अवस्थामा पर्यटक उल्लेख्य मात्रामा आउने सम्भावना कम छ ।
नेपालको वन जंगल, हिमश्रृखला, हावापानीको कारण पर्यटक आउने गर्छन् । लोन्ली प्लानेट तथा विजिनेस इन्साइडरजस्ता पर्यटन सर्वेक्षण सञ्जालका नतिजामा घुम्नै पर्ने देशमा नेपाल ३० औ स्थानमा रहेको कारण पनि पर्यटक आउने क्रम जारी रहेको छ । तर यतिले मात्रै पुग्न सक्ने अवस्था भने देखिंदैन । चर्चामा नरहेका अधिकांश पर्यटकीय स्थलको प्रचार प्रसार हुन सकेको छैन । आन्तरिक पर्यटकलाई आफ्नै देशभित्र घुम्ने वातावरण सिर्जना हुन सकेको छैन ।
नेपाल भ्रमणमा जाऔँ भन्ने सन्देशमूलक कार्यक्रमलाई विस्तार गर्न सकिएको छैन । पर्यटककोे स्वागत सत्कारमा अझ पनि कन्जुस्याई हुने गरेको छ । विमानस्थलबाट पर्यटन झर्ने बित्तिकै पर्यटकलाई हतोत्साहित बनाउने काम हुँदै आएको छ ।
विगतलाई हेर्न हो भने १० वर्षको अवधिमा करिव ७६ लाख विदेशी पर्यटक आएको देखिन्छ ।उनीहरूसँगको समन्वय र सहकार्य भ्रमण वर्ष सफलतामा प्रभावकारी कडी बन्नसक्छ । यसको लागि गैरआवासीय नेपालीको सहयोग पनि त्यति नै आवश्यक पर्छ । वैदेशिक रोजगारी र आप्रवास गरी करिब ६०÷७० लाख जनशक्ति विदेशी भूमिमा कार्यरत रहेको आँकलन गरिएको छ । विदेशी भूमिमा कार्यरत एक नेपालीले एक पर्यटक पठाउन सक्ने अवधारणा विकास गर्न सकेमा सरकारले लिएको लक्ष्य पुरा हुन सक्छ । विश्व पर्यटन संगठनका अनुसार झन्डै ५० प्रतिशत पर्यटक धार्मिक अभिप्रायकै लागि भ्रमणमा जान्छन् । अनि विश्वका झन्डै एक चौथाइ भ्रमण गन्तव्यहरू धार्मिक स्थानको रूपमा रहेका छन् ।
एशियाका अधिकांश धनी देशहरू बौद्ध धर्मावलम्वी छन् । भारतमा एक अर्ब जनसंख्या हिन्दु धर्मावलम्वी छन् । धार्मिक मनोभावनाले अभिपे्ररित भ्रमण समूहको रोजाइमा नेपाललाई पार्ने तर्फ धार्मिक र कुटनीतिक प्रयासको आवश्यकता पनि त्यतिकै रहेको छ । पर्यटकलाई गरिने सामाजिक व्यवहार, अतिथि सत्कार र सहजीकरण पनि पर्यटक आकर्षण गर्न उपयुक्त हुन सक्छ । अहिले पश्चिमा देशका भन्दा एशियाली मुलुकका मानिसमा भ्रमण तथा पर्यटनमा खर्च गर्ने अनुपात बढिरहेको तथ्याकङ्ले देखाएको छ ।
धार्मिक पर्यटकीय स्थल पशुपतिनाथ, हलेसी महादेव, स्वयम्भुनाथ,पाथिभरा, स्वर्गद्वारीको प्रवद्र्वन गर्न सके हिन्दू धर्ममा आस्था राख्ने भक्तजनलाई आकर्षित गर्न सकिन्छ । नेपाली उत्पादन र खानालाई प्रचार प्रसार गर्न सकेमा यसले केही मात्रामा भए पनि सहयोग पु-याउने छ । निर्माणको नाममा धुलो र हिलोले बिजोग पारिहेहेको अहिलेको अवस्थालाई अन्त्य गर्नुपर्ने खाँचो बढेको छ । यसलाई समाधान गर्न नसके भ्रमण वर्षले लिएको अपेक्षा पूरा नहुन सक्छ । भ्रमण वर्षका लागि विदेशी च्यानलमा उचित समयमै विज्ञापन प्रसारण गर्नुपर्नेमा त्यो पनि हुन सकिरहेको छैन । विदेशी भूमिमा रहेका नेपालीहरूको सहयोगबाट भ्रमण वर्षका विज्ञापन गर्नुपर्ने देखिन्छ । पर्यटकीय क्षेत्रमा फ्री वाईफाई, एयरपोर्टको सफाइ र सुधार गर्नुपर्ने खाँचो पनि देखिएको छ ।