भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार (फाेटाे फिचर)

‘भ्रमण वर्षको वहार, नेपाली टोपी उपहार’ भन्ने मूल नारा लिएर जागरुक युवा अभियान नेपालले सातौँ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रूपमा मनाइरहेको छ । बुधवार काठमाडौंको माइतीघरमा भेला भएका सयौं युवायुवतीहरूले राष्ट्रिय पहिचान झल्काउने पोशाक, दौरा सुरुवाल, ढाकाटोपी लगाएर राष्ट्रिय गीत गाउँदै टोपी दिवस मनाएका हुन् ।

जागरुक युवा अभियान नेपालका उपाध्यक्ष जर्नाधन पौडेलले नेपालमा विभिन्न जाती, धर्म र भाषाका मानिसहरूले आ–आफ्नो पहिचान खोजिरहँदा सम्पूर्ण हामी नेपालीहरुको पहिचान भुल्नु नहुने बताए । नेपाली पोशाक दौरा सुरुवाललाई राष्ट्रिय पोशाकबाट हटाइएकोले त्यसको साङ्केतिक विरोध स्वरूप पनि यो अभियान थालिएको उनले बताए । साथै, उनले सबै नेपालीहरूलाई एकताको सूत्र बाध्ने यस्ता अभियानले सहयोग पुग्ने बताए ।



विगत ७ वर्षदेखि अङ्ग्रेजी नयाँ वर्ष अर्थात् जनवरी १ का दिन जागरुक युवा अभियान नेपालले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाउँदै आएको अवगत गराउँदै उपाध्यक्ष पौडेलले नेपाली टोपीको प्रवद्र्धन गर्नका लागि अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन पारेर यो दिवस मनाउन थालिएको बताए ।

कार्यक्रममा साहित्यकार, कलाकार, विद्यार्थी, पत्रकार तथा विभिन्न पेसाकर्मीहरूले सहभागिता जनाएका थिए । यो दिन नेपाल र नेपालबाहिर रहेका नेपाली समुदायले विभिन्न कार्यक्रमको आयोजना गरी धुमधामका साथ नेपाली टोपी दिवस मनाउने गरेका छन् । सामाजिक सञ्जाल पनि टोपी लगाएर खिचेका एकल र समूहगत तस्वीरहरूले झकिझकाऊ भएको देखिन्छ ।

सम्बन्धित समाचार