आफूमाथिको अटुट विश्वासले दिन सक्दछ तपाईलाई अपार सफलता

जीवनमा जब कुनै राम्रो र ठूलो फैसलाको समय आउँछ तब अक्सर मनमा संशय र अविश्वासको माकुरोको जालोले घेर्न थाल्दछ । हामीले आफूलाई चौबाटोमा पाउँदछौं र यो निश्चित गर्न सक्दैनौं कि कता जाने ? यो निकै ठूलो विरोधाभास हो । यसको सीधा मतलब यो हो कि हामी आफ्नो उद्देश्य र तयारीलाई लिएर पूर्ण रूपमा आश्वस्त छैनौं । यस्तोमा हामीले कसरी सफलताको आशा गर्न सक्दछौं ? हामी आन्तरिक रूपमा आफ्नो उद्देश्य र त्यसलाई पाउन बेचैन छौं, ईश्वरसँग आफ्नो सफलताको लागि प्रार्थना पनि गरिरहेका छौं तर भित्रदेखि आशंकाले ग्रस्त छौं । बाहिर दृढ विश्वासको कथा चलिरहेको हुन्छ, भित्र संशयपूर्ण व्यथाहरूले जकेडिरहेको हुन्छ । यो दोहोरो मानसिकता नै जीवनको सबभन्दा ठूलो बिडम्बना हो ।

यो कुरामा विश्वस्त हुनुहोस् कि यदि तपाईंको संकल्प मजबुत छ भने लाखौं बाधाहरू भए पनि तपाई आफ्नो गन्तव्यस्थानमा अवश्य पुग्नुहुन्छ । यदि यसको साथ प्रार्थनालाई पनि जोड्न चाहनुहुन्छ भने त यो सुनमा सुगन्ध जस्तै हुन्छ । प्रार्थना अरू केही होइन, तपाईको आस्थाको एउटा डोरी मात्र हो जसले तपाईलाई तल झर्नबाट बचाउँछ । यो हाम्रो यात्राको लागि सच्चा साथी हो । हामीले यो कुरा जान्नु जरूरी छ कि जबसम्म हामीभित्र संशय र अविश्वासले डेरा बसाल्दछ त्यसले हामीलाई कहिँ जान दिंदैन । यसकारण यी दुवै नकारात्मक वृत्तिहरूलाई पहिचान गर्ने क्षमता हामीभित्र हुनु जरूरी छ । यो ज्ञानको विना सम्भव छैन । महावीर भन्दछन्, “ज्ञान तब मात्र सम्भव हुन्छ जब श्रद्धा हुन्छ । श्रद्धाको विना ज्ञान हुनै सक्दैन । ज्ञान विना प्रत्येक मार्ग संशयपूर्ण हुन्छ । प्रत्येक कदम संशयशील हुन्छ ।” गीतामा पनि भनिएको छ कि श्रद्धावान पुरूषले ज्ञान प्राप्त गर्दछ । संशयशील व्यक्ति ज्ञान आर्जन गर्न सक्दैन र उसको विनाश निश्चित छ ।



आस्था स्वयममा सुख हो र संशय दुःख हो । आस्थाबाट नै विश्वास जोडिएको हुन्छ । विश्वासबाट नै हामी जोडिएका हुन्छौं । पूरा सृष्टि यसको कारणले नै परस्पर बाँधिएको छ । विश्वास टुट्ने बित्तिकै सृष्टि खण्ड खण्ड भएर खण्डित हुन्छ । म र तपाई सबै यदि एक अर्कासित प्रेमपूर्ण व्यवहारको कारणले जोडिएका छौं भने यो यही आस्था र विश्वासको कारणले सम्भव भएको हो । एकआपसको जोडको सुख वास्तवमा प्रेमको सुख हो किनकि प्रेमको धरोहर नै विश्वास हो । विश्वास टुट्ने बित्तिकै प्रेम पनि टुट्दछ । आज जसरी सम्बन्धमा विखण्डनको दृश्य हाम्रो सामु आइरहेको छ, यो संशय र अविश्वासको प्रतिफल हो । यसले परमात्मा र आत्मासँग मात्र सम्बन्ध तोड्दैन कि घरपरिवार समाजको साथसाथै आफूसँग पनि सम्बन्ध तोड्दछ ।

तस्विरमा लेखक मनोजराज रेग्मी

यसकारण पूर्वीय सभ्यतामा आस्थालाई महत्व दिइएको हो । यसको ठोस सम्बन्ध त्यही क्षणबाट हुन्छ जुन क्षणमा हामी जिएका हुन्छौं । त्यस क्षणमा यदि हाम्रो विश्वास छैन भने हाम्रो विश्वास त्यस जीवनमा कसरी हुन्छ जुन हामीले जिउनु छ ? अनि जब वर्तमान माथि नै भरोसा छैन भने कसरी हुन्छ आफ्नो अस्तित्वमाथि भरोसा रहला ? फेरि कसरी शुरू हुन्छ हाम्रो यात्रा र कसरी हामी पुग्न सक्छौं आफ्नो गन्तव्यस्थलमा ? आत्मा र परमात्मा त पछिको कुरा हो । के तपाई बताउन सक्नुहुन्छ तपाईमा आफूमाथि कति विश्वास छ ? वास्तविक कुरा त यो हो कि हामी या त अविश्वासमा जिइरहेका हुन्छौं या त अन्धविश्वासको सहारामा चलिरहेका हुन्छौं । यदि जीवनमा केही गर्नु वा ठूलो कुरा पाउनु छ भने यी दुई कुराबाट मुक्ति पाउनु पर्दछ । आफ्नो फैसलाको घडीमा आफूमाथि विश्वास गर्नुस् । संशयशील हुनुको सट्टा आस्थावान बन्नुहोस्, सफलताले तपाईंको ढोका ढक्ढक्याउनेछ ।

सम्बन्धित समाचार