महेश कठायत
काठमाडौं, १७ पुस ।
सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउने महत्वकाङ्क्षी लक्ष्यका साथ नेपाल भ्रमण वर्षको शुभारम्भ भएको छ । बुधवार काठमाडौंको दशरथ रंगशालामा आयोजित एक भव्य समारोहका बीच राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको औपचारिक शुभारम्भ गरेकी हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भ्रमण वर्षको शुभकामना दिदै नेपालमा पर्यटन विकासको सन्र्दभमा बुधवारबाट शुरू भएको यो अभियान सबैको सहयोग र सहभागितामा अघि बढ्ने विश्वास व्यक्त गरिन् । नेपालको आर्थिक विकासको आधार पर्यटन भएको भन्दै राष्ट्रपति भण्डारीले नेपालले पर्यटन क्षेत्रका भौतिक संरचना निर्माणमा ध्यान दिनुपर्ने बताइन् ।
उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपाल विश्वकै अनुपम गन्तव्य भएको भन्दै विश्व समुदायलाई नेपाल भ्रमणको निम्तो दिए । उनले नेपालमा दिगो शान्ति र स्थायित्वको वातावरण बनेको बताउदै नेपालको पर्यटन क्षेत्रमा लगानी गर्न आग्रहसमेत गरे । नेपालमा पर्यटन विकासका लागि हवाई सञ्जालको अति आवश्यक भएको र त्यसको लागि भैरहवा र पोखरामा विमानस्थल बनिरहेको र निजगढमा पनि अन्तर्राष्ट्रिय स्तरको विमानस्थले बन्ने मन्त्री भट्राई बताए । साथै, मन्त्री भट्टराईले यो भ्रमण वर्षलाई प्रस्तान विन्दुका रूपमा लिएर सन् २०३० सम्म पर्यटक दशकका रूपमा मनाउने तयारी भइरहेको जानकारी दिए ।
उक्त कार्यक्रममा विभिन्न देशका प्रतिनिधीहरूले भ्रमण वर्षको शुभकामना दिएका थिए । सरकारका उच्च पदस्थ व्यक्तित्व, कलाकार, पत्रकार, विभिन्न संघसस्थाका प्रतिनिधी र सर्वसाधारणसहित हजारौं मानिसहरूको सहभागिता रहेको कार्यक्रममा नेपालका पूर्व प्रधानमन्त्री, सातैवटै प्रदेशका मुख्यमन्त्रीहरूको भिडियो सन्देश र नेपालका मौलिक संस्कृति झल्कने नाचगानसमेत प्रस्तुत गरिएको थियो । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल र नेपाली कलाकारहरूले सांस्कृतिक विविधता झल्किने मौलिक प्रस्तुति गरेका थिए ।
बुधबार सातवटै प्रदेशका मुख्य स्थानहरू (विराटनगरको रङ्गशाला, जानकी मन्दिर परिसर, चितवनको सौराहा, लेकसाइट पोखरा, बर्दियाको ठाकुरद्वार, सुर्खेत बुलबुल ताल र धनगढी) मा पनि भ्रमण वर्ष २०२० को शुभारम्भ गरिएको भ्रमण वर्ष सचिवालयले जनाएको छ । यसअघि सरकारले सन् १९९८ र सन् २०११ लाई नेपाल भ्रमण वर्षका रूपमा मनाइसकेको छ भने सन् २०१७ मा १० लाख र सन् २०१८ मा १२ लाख पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्याङ्कले देखाउँछ ।