नेपाली कांग्रेसका सांसद शाहविरुद्ध पक्राउ पूर्जी जारी

नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहविरुद्ध पक्राउ पूर्जी जारी भएको छ ।

कपिलवस्तु क्षेत्र नम्बर ३ बा प्रतिनिधिसभा सदस्य रहेका शाहविरुद्ध ज्यान मार्ने कसुर गरेको अभियोगमा अनुसन्धानका लागि पक्राउ पूर्जी जारी भएको हो ।



कांग्रेस सांसद शाहले कलाकार श्यामकुमार मिश्रमाथि ज्यानमार्ने उद्देश्यले कुटपिट गरेको आरोप लागेको छ ।

कलाकार मिश्रले शाहले आफूलाई घरमा बोलाएर नशालु पदार्थ सुँघाइ बेहोस बनाएर ज्यान मार्ने उद्देश्यले कुटपिट गरेको भन्दै इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएका थिए ।

शाहविरुद्ध उजुरी जारी गरेपछि प्रहरीले शाहलाई पक्राउ गर्न जिल्ला अदालत कपिलवस्तुसँग अनुमति मागेको थियो ।

अदालतले पक्राउ पूर्जी जारी गर्ने आदेशसँगै शाहलाई पक्राउ गर्ने प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी सुनिल मल्लले जानकारी दिए ।

शाह निर्वाचित सांसद भएका कारण प्रहरीले उनलाई पक्राउ गर्नुको कारणबारे संघीय संसद सचिवालयलाई जानकारी गराउनुपर्ने हुन्छ । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रहरी प्रधान कार्यालयमार्फत संघीय संसद सचिवालयमा शाहलाई पक्राउ गर्नुपर्ने कारणसहित जानकारी गराउन लागिएको जनाएको छ ।

सम्बन्धित समाचार