पश्चिमी वायुको प्रभाव कम हुँदै, मौसममा सुधार आउने

पश्चिमी न्यून चापीय वायुको प्रभाव कम हुँदै गएकाले आजदेखि मौसममा सुधार आउने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । केही दिनदेखि सक्रिय न्यून चापीय वायूको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासहित हिमपात हुँदा जनजीवन प्रभावित भएको थियो ।

राजधानी काठमाडौंसहित देशभरका पहाडी जिल्लामा पानी पर्दा चिसो पनि बढेको छ । तर यो क्रम आजबाट सुधार हुने मौसमविद् बरुण पौडेलले जानकारी दिए ।



यो मौसमी प्रणाली कमजोर भए पनि हाल देशका पहाडी भूभाग तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहेको पौडेलले बताए । बाँकी क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने छ । तराईका क्षेत्रमा बिहान हुस्सु लागे पनि दिउँसो मौसम खुल्ने उनले बताए।

दिनभर पनि पहाडी तथा उच्च पहाडी र हिमाली क्षेत्रमा आंशिक बदलीको अवस्था रहे पनि बाँकी क्षेत्रमा भने मौसम सफा हुनेछ । पानी पर्ने सम्भावना भने नरहेको जनाइएको छ ।

काठमाडौं उपत्यकासहितका क्षेत्रमा आइतवार दिनभरजसो घाम लाग्ने छ । बिहान ४.५ डिग्री सेल्सियस मापन भएको काठमाडौँको तापक्रम दिउँसो बढेर १७ डिग्रीसम्म पुग्न सक्ने मौसमविद पौडेलले बताए ।

सम्बन्धित समाचार