राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टीले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएका छन् । राजपा नेपालको केन्द्रीय कार्यालय बबरमहलमा शनिवार बसेको अध्यक्ष मण्डलको बैठकले उम्मेदवारको टुंगो लगाएको हो । प्रदेश २ बाट अन्य समूहमा मृगेन्द्रकुमारसिंह यादव र अल्पसंख्यक-अपांगता समूहबाट शेखरकुमार सिंहलाई उम्मेदवार बनाउने निर्णय भएको राजपा अध्यक्ष मण्डलका संयोजक राजेन्द्र महतोले बताए ।
यादव र सिंह दुबै जना पार्टीको वरिष्ठ उपाध्यक्ष हुन् । दुबै जना सप्तरी निवासी हुन् । राजपाबाट यसअघि राजपाको तर्फबाट राष्ट्रिय सभा सदस्य रहेका रमेश यादव र बृखेशचन्द्र लालको पदावधि सकिँदै छ ।
सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)र राजपाले प्रदेश २ तर्फको चार सिटमा दुईरदुई सिट लिने र एकअर्कालाई सहयोग गर्ने सहमति २ पुसमा नै गरिसकेका छन् ।
यसैगरी, समाजवादी पार्टीको शनिवार बसेको पदाधिकारी बैठकले अहिले भएका सदस्यलाई नै दोहोर्याउने निर्णय गरेको छ । समाजवादी पार्टीका महासचिव रामसहाय यादवले दलितबाट सदस्य भएका रामपृत पासवानलाई नै पुनः उम्मेदवार बनाउने निर्णय भएको बताए ।
अन्य समूहबाट हुने उम्मेदवारको टुंगो लगाउने जिम्मा पार्टी अध्यक्ष उपेन्द्र यादवलाई दिइएको छ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र प्रतिपक्षी समाजवादी पार्टीका बीचमा राष्ट्रिय सभा निर्वाचनमा चुनावी तालमेल गर्ने सहमति शुक्रवार नै भएको छ ।