शालीनदी जाने मौसम आरम्भ हुँदै

हरेक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म काठमाडौँको साँखुमा लाग्ने शालीनदी मेलाको तयारी अन्तिम चरणमा पुगेको छ । शंखरापुर नगरपालिका साँखुमा शनिबार पत्रकार सम्मेलन गर्दै पुस २५ देखि माघ २५ सम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको श्री माधव नारायण स्वस्थानी ब्रत तथा शालीनदी सुधार समितिले जनाएको छ ।

शालीनदी सुधार समितिका अध्यक्ष गोविन्द्रबहादुर श्रेष्ठले शालीनदी मेलाका लागि यातायात, बजार व्यवस्थापन र सुरक्षाको विषयमा सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जानकारी गराए । साथै, उनले सम्पूर्ण श्रद्धालु भक्तजनहरूलाई निर्धक्क भएर मेला भर्न अनुरोध गरे । ऐतिहासिक धार्मिक पर्यटकीय महत्वसमेत बोकेको यो मेलाले यसै वर्षदेखि शुरू भएको नेपाल भ्रमण वर्ष २०२० लाई पनि टेवा पुग्ने अध्यक्ष श्रेष्ठको भनाई थियो ।



शंकरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले साँखु क्षेत्रकै ऐतिहासिक धार्मिक महत्वको शालीनदी मेलालाई जोगाई राख्न र मेलालाई व्यवस्थित बनाउन शालीनदी सुधार समितिसँग आफूहरू पनि सहकार्य गरी लागिपरेको जानकारी गराए ।

त्यसैगरी समितिका महासचिव एलपी श्रेष्ठले यसक्षेत्रको सडकखण्डको अवस्था विगतको भन्दा अहिले धेरै सुधार भएको जानकारी गराउँदै यो वर्ष आन्तरिक र बाह्य दुबै पर्यटकहरूको संख्या पनि बढ्ने विश्वास व्यक्त गरे । उनले भने ‘विगतमा कतिपय भक्तजनहरू यहाँ आउने इच्छा हुँदाहुँदै पनि सडकको बिग्रेको हुँदा आउन सक्नु भएको थिएन्, तर अहिले त्यस्तो अवस्था छैन् । ढुक्क भएर आउन सक्नु हुन्छ ।’

मेलामा वृद्धवृद्धा र महिलाहरू पनि हुने हँदा शान्ति सुरक्षाको लागि ठाउँ ठाउँमा सीसी क्यामेरा, साधा पोशाकमा प्रहरी परिचालन र हेल्प डेक्सको व्यवस्था गरिएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले जानकारी दिए ।

उक्त समितिले मेला अवधिमा कम्तीमा तीन पटक स्थलगत निरीक्षण एवम अनुगमन गर्ने जानकारी दिएको छ । समितिले मेला भर्न जाने भक्तजनहरूलाई ध्यानमा राखी सार्वजानिक यातायात बस व्यवसायी संघको सहकार्यमा दश जनामात्र भए पनि सेवा दिने तयारी गरेको छ । समितिका अनुसार मेलामा नेपाल प्रहरी, नेपाल स्काउट, नेपाल रेडक्रस सोसाईटी साँखु शाखा, स्वयमसेवकहरू समेत परिचालन गरिने छन् ।

सम्बन्धित समाचार