
त्रिभुवन विमानस्थलले चेकजाँचमा कडाइ गरेपछि तस्करहरुले फरक तरिकाले सुन तथा अन्य बहुमूल्य धातुहरु भित्र्याउन थालेका छन् । आइतबार त्रिभुवन विमानस्थलमा भारतीय नागरिकको पेटमा बहुमूल्य धातु हीरा भेटिएपछि यो रहस्य बाहिरिएको हो ।
आरए०४१६ नम्बरको फ्लाइटमा दुबईबाट आएका भारतीय नागरिक मोहम्मद मिदिन सथालीको पेटमा २०० ग्राम हीरा भेटिएको हो । त्रिभुवन विमानस्थलको भन्सार एरिया कटिसकेपछि अपराध महाशाखाको टोलीले शंकाका आधारमा सथालीलाई पक्राउ गरेको हो ।
पक्राउपछि टोलीले उनलाई काठमाडौँ मेडिकल कलेज सिनामंगल लगेर चेकजाँच गराउँदा उनको पेटमा २०० ग्राम हीरा रहेको तथ्य खुलेको हो ।
सो हीरासहित उनलाई महाशाखाको टोलीले नियन्त्रणमा लिई थप अनुसन्धान अगाडि बढाएको जनाएको छ।
त्यस्तै विमानस्थलबाट अर्का भारतीय नागरिक आधाकिलो सुनसहित पक्राउ परेका छन् । जी ९ ०५९ को फ्लाइटमा सार्जाबाट आएका भारतीय नागरिक कोताकुत किजाकेथिल नौसादको साथबाट प्रहरीले आधाकिलो सुन बरामद गरेको हो । सुनसहित उनलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।
महाशाखा प्रमुख एसएसपी सहकुल थापाले महाशाखाको सूचनापछि विमानस्थल प्रहरी र भन्सारको संयुक्त कारबाहीमा दुबैजना पक्राउ परेको बताए । उनले हीराको तस्करीको घटना यस वर्षको पहिलो भएको बताए ।

