सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको तत्कालीन माओवादी पक्षले ‘सभामुख पद नछाड्न’ सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई चर्को दबाव दिएका छन् । पूर्वमाओवादी पक्षका नेताहरुले प्रचण्ड निवास खुमलटारमै पुगेर यस्तो दवाब दिएका हुन् ।
आफ्नै समूहबाट आएको दवाब प्रचण्डले थेग्न नसकेर नेकपाका अर्का अध्यक्ष केपी ओलीसँग सभामुखको विषय टुंगो लगाउन सकेका छैनन् । पूर्वमाओवादी समूहले मंसिर ३० देखि नै प्रचण्ड निवासमा निरन्तर छलफल गरिरहेका छन् । प्रचण्ड निवासमा सभामुखका विषयमा छलफल भएको स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले स्वीकार गरेका छन् ।
‘हामीले दुवै पृष्ठभूमिबाट आएका साथीहरुलाई मिलाएर लैजान अध्यक्षलाई सुझाव दिएका छौं, सभामुखको विषय टुंगिएको छैन’– पौडेलले भने । सभामुख चयनको विषयलाई लिएर नेकपाभित्र पूर्वएमाले र पूर्वमाओवादी खेमाबीच होडबाजी नै चलेको छ । एक वर्षपछि स्थायी कमिटी बैठक चलिरहँदा पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डको निवासमा सोही विषयमा छलफल भएको थियो ।
प्रचण्डले ‘कार्यकारी अध्यक्षसँग सभामुख पद साटेको’ हल्ला चलेपछि पूर्वमाओवादी नेताहरुले उनलाई निरन्तर खबरदारी गरिरहेको स्रोतले जनायो । ‘जनआन्दोलन र जनयुद्धका समान पक्षलाई समेट्न हाम्रो प्रयास जारी छ । प्रधानमन्त्री पद केपी ओलीलाई पाँच वर्षका लागि छाडेको हो भन्दैमा अन्य पदमा पनि एकलौटी गर्न दिइँदैन । त्यसका लागि हामीले खुमलटारमा निरन्तर छलफल गरिरहेका छौं’– पूर्वमाओवादी सम्बद्ध स्रोतले भन्यो ।
स्रोतका अनुसार पूर्वमाओवादी समूहबाट अग्नि सापकोटालाई सभामुख बनाउने प्रयास जारी रहेको खबर टपेन्द्र कार्कीको बाइलाइनमा सोमवारको नागरिक दैनिकमा प्रकाशित छ ।