नेपाली कांग्रेसको संस्थापनइतरका जिल्ला सभापतिहरुको भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न भएको छ । भेलामा ४२ जिल्ला सभपातिहरु सहभागी भएको पौडेल पक्षको दाबी छ । भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवाले पार्टीमा न्यूनतम सहमतिको स्थिति समेत पैदा नगरेको आरोप लगाए ।
उनले सभापतिको पेलेरै जान खोज्ने प्रवृत्तिविरुद्ध लड्नुपर्ने बेला आएको हुँदा तयार रहन जिल्ला सभापतिहरुलाई आग्रह गरे । संस्थापन पक्षले यही पुस ११ गते एकलौटीरुपमा विधानका दफा निलम्बन गर्ने र आगामी १४औं महाधिवेशनको मिति घोषणा गरेपछि रुस्ट बनेको असन्तुष्ट पक्षले जिल्ला सभापतिहरुको भेला बोलाएको हो ।
पुस ११ गते वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षको बहिस्कारकाबीच सभापति शेरबहादुर देउवाले केन्द्रीय समितिको बैठकबाट महाधिवेशनको कार्यतालिका, विभागको संख्या थप्ने र पार्टी विधानका दफा निलम्बन गर्ने निर्णय गराएका थिए ।
सभापति देउवाका एकलौटी निर्णय सच्याउन दबाब दिनको लागि पौडेल पक्षले सभापतिको भेला बोलाएको हो ।
भेलामा नेता पौडेल, महामन्त्री शशांक कोइराला, कोषाध्यक्ष सीतादेवी यादव, पूर्वमहान्त्री प्रकाशमान सिंहलगायत पौडेल पक्षका नेताहरु सहभागी छन् ।भेलामा सहभागी जिल्ला सभापतिहरुले पुस ११ गते गरेका निर्णय सच्याउन र पार्टीलाई विधि र विधानसंगत ढंगले चलाउन माग गरेका छन् ।