प्रदेश नं ३ को नाम र राजधानीको विषयमा मुलुककै चासो छ : मुख्यमन्त्री पौडेल

प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले आजदेखि शुरु भएको प्रदेशसभाको अधिवेशन विशेष महत्वकासाथ ऐतिहासिक बन्ने बताएका छन् । प्रदेशसभा सरकार पक्षका संसदीय दलका नेताका हैसियतले शुभकामना राख्ने क्रममा उनले यस अधिवेशनबाट प्रदेशको नाम र राजधानी टुङ्गो लाग्ने भएकाले ऐतिहासिक हुने बताए ।

प्रदेशको मात्र नभई मुलुककै चासोको विषय रहेको प्रदेशको नाम र राजधानीको विषय टुङ्गो लगाउने काम सहज बनाउने क्रममा केही ढिला भएको भन्दै मुख्यमन्त्री पौडेलले संविधानले व्यवस्था गरेअनुरुप मतदान प्रक्रियाबाट टुङ्गोमा पु-याउने धारणा व्यक्त गरे । साथै प्रदेशको राजधानी र नामका विषयमा विनाविवाद टुङ्गोमा पु-याउनसमेत उनले आग्रह गरे ।



प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका नेता इन्द्रबहादुर बानियाँले नेकपाको केन्द्रले प्रदेशको राजधानी र नामको विषय टुङ्गो लगाएको प्रक्रियाका हिसाबले गलत भएको भए पनि प्रदेशका लागि भने स्वागतयोग्य कार्य रहेको धारणा व्यक्त गरे । उनका अनुसार प्रदेशसभाबाट टुङ्ग्याइने विषय दलले सचिवालयबाट टुङ्ग्याउने कार्यले प्रदेशसभा सदस्यको अधिकार कुण्ठित गरेको छ । यद्यपि निर्णय भने राम्रो र दूरदर्शिताका आधारमा रहेको नेता बानियाँको भनाइ छ ।

सम्बन्धित समाचार