नवकान्तिपुर संवाददाता
काठमाडौं, २२ पुष ।
नेपाली कांग्रेसका नेता मीन विश्वकर्माले पार्टी सभापतिलाई कमजोर तुल्याउनका लागि पार्टीका केही नेताहरू जथाभावी असंवैधानिक, अवैधानिक र अराजनीतिक गतिविधीका अभिव्यक्ति दिन थालेको बताएका छन् । सोमवार रिर्पोटस क्लव नेपालमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता विश्वकर्माले ‘पार्टीभित्रकै कतिपय साथीहरूले कांग्रेस पार्टीमा मत हाल्दा मेरो हात काम्छ भने, कतियप साथीहरूले नेपाली भूभाग भारतलाई दिए हुन्छ भने । यी सबै कुराको सार भनेको सभापतिलाई कमजोर तुल्याउन खोजेको मात्र हो’ भनेका छन् ।
विधानतः कुनै पनि केन्द्रीय कार्यसमितिका ८५ जना पदाधिकारीहरूमध्ये एक जनाले केन्द्रीय कार्यलयमा औपचारिक कार्यक्रम गर्नका लागि केन्द्रीय कार्यसमितिको स्वीकृति लिनुपर्ने भन्दै उनले पार्टी सभापति शेरबहादुर देउवा विधानविपरीत जानु भयो भन्ने आरोप लगाउनेहरूले गरेको जिल्ला सभापतिको भेला स्वभाविक रूपमा विधानविपरीत भएको बताए ।
विधानविपरीत पार्टी सभापति एकलौटी अगाडि बढ्नु भएको आरोमा कुनै पनि सत्यता नरहेको बताउदै उनले भने ‘अहिले जसले पार्टी कार्यलयमा अनौपचारिक भेला बोलाएर छलफल गर्दै हुनुहुन्छ उहाँले पेश गर्नु भएको नौ बुँदे प्रस्ताव शेरबहादुर देउवा सभापति रहेको केन्द्रीय कार्यसमितिले हुवहु पारित गरिदिएको छ । अब हाम्रो अनुपस्थितिमा किन पारित गर्नु भयो भन्नुको मतलब झुक्याएर पारित गरेको होइन् । उहाँहरू आफै विना सूचना अनुपस्थित हुनु भएको हो ।’
हामीले अहिले पछाडि फर्केर हेर्दा २०५५ सालमा सभापति गिरिजाप्रसाद कोइराला भएको बेला अहिलेको जसरी किसुनजीले गुनासो गरेर बाहिर निस्किँदाखेरी किसुनजीका नजिकैका १७ वटा जिल्ला सभापतिहरूलाई एकै रातमा पदविहीन बनाइदिनु भएको थियो । त्यसको भोलिपल्ट बिहानै प्रवक्ताहरूको खारेजी भएको थियो भने केन्द्रीय समिति पुनर्गठन भएको थियो भन्दै नेता विश्वकर्माले विगतको घटनाहरू स्मरण गराए । साथै उनले भने ‘आज देउवाजी आनन्दका साथ सानेपाको पार्टी कार्यलयमा विपक्षीहरूलाई भेला गर्न दिइरहनु भएको छ । कुनै होहोल्ला छैन र कुनै प्रतिक्रिया पनि छैन् । त्यस्तो व्यक्ति कसरी तानाशाही, निरङकुश र असक्षम हुन्छ ? कदापि हुँदैन् । चरित्र हत्या गर्ने काम मात्र हो ।’
‘असुन्तुष्ट पक्षको कुनै माग छैन् चित्त दुखेको मात्र हो । त्यस चित्त दुखाईको कुनै उपचार छैन् । उनीहरूले राखेका नौ प्रस्तावहरूमा कत्ति पनि कमी गरेका छैनौं’ उनले भने ।