१ सय ५९ जनामाथि यौन उत्पीडनको आरोप लागेका एक युवकलाई जन्मकैदको सजाय तोकिएको छ । तीमध्ये १ सय ३६ जनालाई त उनले बलात्कार नै गरेका थिए । रेहनार्ड सिनागामाथि ४८ जना पुरुषलाई आफ्नो फ्ल्याटसम्म ल्याएको, उनीहरुलाई ड्रग्स खुवाएर उत्पीडन गरेको र उक्त घटनालाई क्यामरामा कैद गरेको आरोप लागेको थियो जुन पुष्टि भएको छ ।
पुलिसले ३६ वर्षे सिनागाले कम्तीमा १ सय ९० जनालाई पीडित बनाएको प्रमाण आफूसँग भएको जानकारी दिएको छ । द क्राउन अभियोजन सेवा (सिपीएस) ले सिनागालाई बेलायती इतिहासमा सबैभन्दा धेरैलाई बलात्कार गर्ने व्यक्तिको संज्ञा दिएको छ ।
न्यायाधीसले उनको जन्मकैद कम्तीमा पनि ३० वर्षको हुनुपर्ने आदेश दिएकी छिन् । सोमवारको सुनुवाईमा अदालतले उनको नामसमेत उल्लेख गर्न अनुमती दिएको छ । यसअघि सन् २०१८ को गर्मीयाम र गत वर्ष भएका दुईवटा सुनुवाईमा नै पोस्ट ग्राजुएटका विद्यार्थी सेनेगामाथि २० वर्षको जेल सजाय तोकिएको थियो ।
चार भिन्न सुनुवाईमा ती इन्डोनेशियाली नागरिकलाई १ सय ३६ जना माथि बलात्कार, ८ जना माथि बलात्कारको प्रयास, १५ जनामाथि यौन उत्पीडन गरेको आरोपमा दोषी ठहर गरिएको थियो ।
अधिकारीका अनुसार उनीहरुले अन्य ७० जनाको पहिचान गर्न नसकेको र सिनागामार्फत् कुनै पनि अवस्थामा यौन उत्पीडन सहनु परेका जोसुकैलाई पनि सम्पर्कमा आउन अनुरोध गरेको छ ।
सुनुवाईको क्रममा न्यायाधीस सुजेन गोडार्ड क्यूसीले सिनागालाई युवाहरुलाई शिकार बनाउने दुष्ट यौन पिपाषुको संज्ञा दिएकी छिन् ।
‘मेरो फैसलामा तिमी असाध्यै खतरनाक, चलाख र कपट गर्ने व्यक्ति हौ जसलाई कुनै पनि अवस्थामा जेलमुक्त गर्नु सुरक्षित छैन,’ उनले भनिन् ।