के एनआईसी एशिया बैंकको दमक शाखाले आफ्नै ग्राहकको रकम ठगेकै हो ?

एनआईसी एशिया बैंकको दमक शाखाका कर्मचारीबाटै एक महिला ग्राहक ठगिएको कुरा खुलेको छ । साधारण लेखपढ गर्न पनि नसक्ने ग्राहकको खाताबाट कर्मचारीकै मिलेमतोमा किर्ते गरी लाखौं रकम झिकेको कुरा सार्वजनिक भएको हो ।

घटना विवरण अनुसार दमक नगरपालिका वडा नं. ३ बस्ने जमुनादेवी लिम्बूले आफू निराक्षर भएका कारण बैंककै एक महिला कर्मचारीसँग सहयोग मागेर रु ३० हजार निकालेकी थिइन् । उनले काउन्टरबाट पनि रु ३० हजार नै बुझेकी थिइन् तर पछि उनले ५ लाख ३० हजार निकालेको कुरा खुलेपछि छाँगाबाट खसेझैं भइन् ।



तीस हजार निकाल्ने चेकमा अगाडि ५ अङ्क थप गरी ५ लाख तीस हजार निकालेको प्रारम्भिक अनुमान गरिएको छ । त्यति मात्र होइन, बैंककै कर्मचारीले ग्राहक लिम्बूको चेक बुकबाट एउटा चेक निकालेर किर्ते सही गरी अरू १ लाख निकालेको पनि खुलेको छ ।

बैंकले गरेको ठगीधन्धा त्यति बेला मात्र सार्वजनिक भयो, जब वैदेशिक रोजगारमा रहेका ग्राहक लिम्बूका श्रीमान्ले रहस्य थाहा पाए । हाल पीडित लिम्बू न्यायका लागि इलाका प्रहरी कार्यालय दमकमा निवेदन दिने तयारीमा रहेको पनि जानकारीमा आएको छ ।

सम्बन्धित समाचार