हिउँदे झरी लम्बिने, फेरि अर्को वर्षा भित्रिँदै

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशैभरीको मौसममा बदली भई हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमवार राति पश्चिमबाट नेपाल प्रवेश गरेको हिउँदे वर्षा गराउने न्यूनचापीय प्रणालीका कारण मंगलवारबाट परेको झरी अझै केही दिन नरोकिने पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

बिहीवार पनि देशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ भने उच्च पहाडी र हिमाली भूभागहरुमा मध्यमदेखि भारी हिमपातको सम्भावना रहेको छ ।



यसैगरी, बिहीवार राति पनि पश्चिमका केही स्थान, मध्य र पूर्वका केही स्थानमा वर्षाको सम्भावना रहेको छ भने मध्य, पूर्वी उच्च पहाडी र हिमाली भूभागहरुमा हल्का हिमपातको सम्भावना रहेको पूर्वानुमानमा उल्लेख छ ।

त्यस्तै, महाशाखाले यो तेस्रो हिउँदे वर्षा नसकिँदै नेपालमा चौंथो चरणको वर्षा गराउने नयाँ न्यूनचापीय प्रणाली पश्चिमबाट प्रवेश गर्ने तयारीमा रहेको जनाएको छ । नेपालतिर आउँदै गरेको उक्त प्रणालीका कारण फेरि सोमवारदेखि वर्षाको संकेत गरिरहेको मौसमविद् बरुण पौडेलले जानकारी दिए ।

सम्बन्धित समाचार