नवकान्तिपुर संवाददाता
काठमाडौं, २४ पुष ।
नेपाली कांग्रेसका नेता गगन थापाले सूचना प्रविधि विधेयकका शब्द-शब्दमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटासँग छलफल गर्न आफू तयार रहेको बताएका छन्। कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले बिहीबार विधेयकको विरोधमा माइतीघर मण्डलामा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै नेता थापाले सो कुरा बताएका हुन् ।
‘विधेयकमा छलफल कहाँ गर्ने ? संसदमा गर्ने हो की माइतिघर मण्डलामा गर्ने हो ?’, थापाले भने, ‘प्रत्येक दफा दफामा, शब्द शब्दमा छलफल गर्न तयार छौं।’ केही दिनअघि सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले गगन थापाले विधेयक नपढेरै बोलेको आरोप लगाएको थिए। त्यसको जवाफमा थापाले भने, ‘नढिकन आएका होइनाैं । पढेर बुझेर आएको हाैं। हेप्ने हामीलाई। नपढिकन आयो भन्ने ? हामी बुझेर आएको हाैं। पढेरै आएका हाैं।’
सरकारले जनताको हक अधिकार खोस्न खोजेको आरोप लगाउँदै बहुमतको सरकारले नागरिकको स्वतन्त्रता तथा हक अधिकारको रक्षा गर्नुको सट्टा आफ्ना आसेपासेको रक्षाका लागि मात्रै काम गरिरहेको जिकिर गरे।
‘सरकारले नागरिकको हक अधिकारका लागि काम गर्नुपर्नेमा अरिङ्गालहरूका पक्षमा मात्रै काम गरिरहेको छ’, थापाले भने, ‘सरकारले नागरिकलाई तर्साउन खोजेको छ, हामी यसको निरन्तर विरोधमा छौं।’ संसदीय समितिले कांग्रेसको असहमतिका बीच पारित गरिसकेको विधेयकले प्रतिनिधसभाबाट पारित भएर कानुनी मान्यता पाए जनताका संविधान प्रदत्त हक, अधिकार खोसिने नेता थापाको भनाइ थियो । नेता थापाले सरकार कायर भएकाले नागरिकलाई तर्साउन खोजेको आरोप समेत लगाए ।