प्रदेश नम्बर ३ प्रदेश सभाबाट आइतवार औपचारिकरुपमा प्रदेशको नाम र राजधानी तोकिने भएको छ । प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्न आइतवार बिहान ९ बजेदेखि मतदान हुँदैछ । प्रदेश सभा गठन भएको झण्डै दुई वर्षपछि प्रदेश ३ ले नाम र स्थायी राजधानी पाउने भएको छ ।
यसअघि प्रदेश सभाले नाम र राजधानी तोक्न नसकेको भन्दै जनगुनासो आइरहेको थियो । प्रदेश सभामा पनि यसकै विषयमा धेरै कुरा उठ्ने गरेको थियो ।
सभामुखभन्दा बाहेक एक सय ५ जना सांसद्ले स्थायी राजधानी हेटौंडाको पक्षमा मतदान गर्ने पक्का भएको छ । प्रदेशको नाम वाग्मतीमा स्वतन्त्र सांसद प्रेम तामाङ बाहेक सबै दलका सांसद एकमत भएका छन् ।
नेकपा र काङ्ग्रेसका सांसदले ’फ्लोर क्रस’ नगरेमा दुई तिहाइभन्दा पनि बढी मतले हेटौंडा र राजधानी पारित हुने अवस्था छ । दुवै दलमा हेटौंडा र वाग्मती हुँदैन भन्दै असन्तुष्टि जनाए पनि प्रस्ताव दर्ता र पेस गर्दा सबैले समर्थन गरेका छन् । त्यसैले पनि ’फ्लोर क्रस’ हुने सम्भावना न्यून रहेको छ ।
प्रदेश ३ मा एक सय १० जना सांसद् छन् । जसमध्येबाट सभामुखमा सानुकुमार श्रेष्ठ चयन भएपछि एक सय ९ जना रहेका छन् । यीमध्ये नेकपाका सांसद् ७९ जना छन् । यो सङ्ख्या राजधानी पारितका लागि दुई तिहाइ हो । यसमा नेपाली काङ्ग्रेसको २२, नेमकिपाको २, राप्रपा र राप्रपा संयुक्तको १–१ मत जोड्दा राजधानी हेटौंडाको पक्षमा एक सय ५ मत पुग्छ ।
राजधानी धुलिखेल प्रस्तावको पक्षमा भने विवेकशीलको ३ मत मात्र रहेको छ । एक मत रहेको स्वतन्त्र सांसद प्रेम तामाङले भने मत प्रक्रियामा सामेल नहुने घोषणा गरिसक्नु भएको छ । राजधानी र नाम प्रदेश सभाबाट पारित गर्न ७४ मत आवश्यक पर्छ । प्रदेशको नाम वाग्मतीका लागि स्वतन्त्र सांसद्बाहेक अरूको समर्थन रहेकाले एक सय ८ मत नै रहेको देखिन्छ ।
प्रदेशसभा सचिवालयले वाग्मती नाम दिएको समयमा सबै दलको तर्फबाट एउटै मात्रै नाम दर्ता भएपछि वाग्मती हुने पक्का भएको हो । प्रदेश ३ को नामको लागि प्रमुख प्रतिपक्ष दलका नेता ईन्द्र बानियाँले प्रस्ताव गर्नु भएको थियो । समर्थकमा नेकपा प्रदेश ३ संसदीय दलका प्रमुख सचेतक रामेश्वर फूयाँल, राप्रपाकी रिता माझी, राप्रपा संयुक्तकी रिना गुरुङ, विवेकशील साझा पार्टीका रमेश पौडेल र शोभा शाक्य रहेका छन् । नाममा नेमकिपाले पनि समर्थन गरेको छ ।
प्रदेश सभामा १३ जिल्लाः मकवानपुर, चितवन, धादिङ, रसुवा, नुवाकोट, काठमाण्डौ, भक्तपुर, ललितपुर, काभ्रे, सिन्धुपाल्चोक, सिन्धुली, रामेछाप, दोलखाका गरी एक सय १० जना प्रदेश सभा सदस्य रहेका छन् । प्रदेश ३ मा पहिलो हुने निर्वाचनबाट निर्वाचित ६६ जना, समानुपातिकबाट ४४ जना, दलगततर्फ तत्कालीन नेकपा एमालेबाट ५७ जना, तत्कालीन नेकपा माओवादी केन्द्रबाट २३ जना, काङ्ग्रेसबाट २२ जना, विवेकशीलबाट ३ जना, नेपाल मजदुर किसान पार्टीबाट २ जना, राप्रपा (संयुक्त) बाट १ जना, राप्रपाबाट १ जना, स्वतन्त्र १ जना प्रदेश सभा सदस्यको प्रतिनिधित्व रहेको छ ।
प्रदेशको स्थायी राजधानी र नामाकरण गर्न दुई तिहाइ बहुमतबाट प्रस्ताव पारित गर्नुपर्ने संविधानमा व्यवस्था रहेको छ ।