नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ पुष ।
नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापा मित्रराष्ट्र बङ्गलादेश प्रस्थान गरेका छन्। बङ्गलादेश सेना प्रमुख अजिज अमेदको औपचारिक निमन्त्रणामा थापासहित ७ सदस्यीय भ्रमण टोली त्यसतर्फ प्रस्थान गरेको हो।
प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरद कुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरेका थिए । उक्त अवसरमा नेपालस्थित बङ्गलादेशका राजदूत, नेपाली सेनाका रथीबृन्द, नेपालस्थित बङ्गलादेशका सैनिक सहचारीको उपस्थिति थियो ।
प्रधानसेनापति थापाले भ्रमणका क्रममा सैनिक युनिट भ्रमणदेखि उच्चस्तरीय भेटवार्ता र ऐतिहासिक स्थलको भ्रमण गर्ने कार्यक्रम रहेको छ। सेनाले यो भ्रमणले दुई देशको आपसीहित र पारस्परिक सम्बन्धलाई थप सुमधुर र प्रगाढ बनाउने विश्वास व्यक्त गरेको छ।
प्रधानसेनापति थापा माघ १ गते स्वदेश फर्कने कार्यक्रम छ । भ्रमण अवधिभर प्रधानसेनापतिको अनुपस्थितिमा बलाधिकृत रथी शरदकुमार गिरीले कायम मुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन् ।