सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा भालेवादी शक्ति हाबी भएको नेकपाकी सांसद नवीना लामाले बताएकी छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत नेकपामा भालेवादी शक्ति हाबी भएको बताएकी हुन् ।
पार्टीभित्र आन्तरिक स्वार्थको कारणले उपसभामुख शिवमाया तुम्बाहाङफेलाई राजीनामा मागेको भन्दै उनले आलोचना गरेकी छन् । नेकपाले सभामुख चयन गर्नको लागि उपसभामुखको राजीनामा मागेको छ । तर, उनले आफ्नो अडानबाट पछि हटेकी छैनन्।
सांसद लामाले लेखेकी छन्, ‘विधावारिधि गरेको, कानुन व्यवसाय अभ्यासरत, अखिलको उपाध्यक्ष भैसकेको, लामो र अनवरत कम्युनिष्टको आन्दोलन, संघष जेलनेल सवै त्यगेर राजनीतिमा लागेको, पार्टीको केन्द्रीय सदस्य रहेको, जातीय राजनीतिको हावामा विचारले नडगमगाएकोु महिला सभामुख चयन हुन नसक्नुमा भालेवादी चिन्तन हाबी भएको छ। त्यसैले सभामुखमा उपसभामुख तुम्बाहाङफे अयोग्य नेकपामा भालेवादी चिन्तन कति बलियो रहेछ भन्ने निष्कर्ष निकाल्नु पर्छ । ‘
उनले सभामुखमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूनिकटका व्यक्तिलाई ल्याउन चाहेको बताइन्। ओलीले सभामुखमा संसदीय दलको उपनेता सुवासन्द्र नेम्वाङ र अध्यक्ष दाहालले अग्निप्रसाद सापकोटालाई सभामुखमा ल्याउन चाहेको उनको आरोप छ । व्यक्तिगत स्वार्थको लागि प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले उपसभामुखको राजीनामा मागेको भन्दै असन्तुष्टि जनाएकी छन्।