महान् वैज्ञानिक अल्बर्ट आइन्स्टाइन एकपटक एउटा कलेजका विद्यार्थीसितको अन्तरसंवादमा थिए । उनी विद्यार्थीका प्रश्नको जवाफ दिँदै थिए । त्यत्तिकैमा एक विद्यार्थीले सोधे- ‘हजुलाई सबैले महान् वैज्ञानिक भन्छन् । पक्कै पनि हजुर सजिलै महान् वैज्ञानिक बन्न सफल हुनुभएको होइन होला । त्यसो हो भने हजुरको सफलताको रहस्य के हो ? के हामीलाई बताउन मिल्छ ?’
विद्यार्थीको प्रश्न सुनेर आइन्स्टाइन केही बेर मौन रहे, केही गमे र हल्का मुस्कुराउँदै जवाफ दिए- ‘म तपाईंहरूका प्रश्नको जवाफ दिनै यहाँ उपस्थित भएको हुँ । त्यसैले म सकेसम्म तपाईंहरूका प्रश्नको यथोचित जवाफ दिने प्रयत्न गर्छु । म सफल छु कि छैन, त्यो तपाईंहरूले मूल्यांकन गर्ने विषय हो । तपाईंहरू मलाई सफल देख्नुहुन्छ भने मेरो यो सफलताको रहस्य हो(अविचलित हिम्मत । जीवनमा हिम्मत नहारी आफ्नो लक्ष्यमा लागिपरेको हुनाले नै आज म यहाँ छु ।
जतिखेर म सानो थिएँ, त्यतिवेला मेरा स्कुले साथीले मलाई बुद्धु भनेर गिज्याउँथे । शिक्षकले गरेको प्रश्नको जवाफ दिन नसक्दा मलाई उनीहरू गोबरगणेश भन्थे । शिक्षकका प्रश्नको जवाफ दिन नसक्दा म बारम्बार बेन्चमाथि उभिन बाध्य हुन्थेँ । सबैले मेरो उपहास गर्थे ।
गणितका शिक्षकले मलाई पटक–पटक भनेका थिए- ‘तिमीले यो जुनीमा गणित सिक्न सक्दैनौ । त्यतिखेर म मनमनै खुब रुन्थेँ । आफूलाई बुद्धु बनाएकोमा भगवानसँग खुब रिसाउँथेँ । म चारैतिर निराशासिवाय केही देख्दिनथेँ । तर, ममा एक प्रकारको अनौठो भोक थियो । त्यो भोक शान्त पार्न म कहिल्यै हिम्मत नहारिकन निरन्तर कर्ममा जुटिरहेँ । परिणाम तपाईंहरूसामु छ ।’