सभामुखका निम्ति प्रधानमन्त्री केपी ओलीका तर्फबाट प्रस्तावित सुवास नेम्बाङ र नेकपाका अर्का अध्यक्ष प्रचण्डको रोजाइका अग्नी सापकोटाको नाममा सहमति हुन नसक्दा विकल्पमा पम्फा भूसालले सभामुख हात पार्ने देखिएको छ । ओलीले सके पूर्व एमालेबाटै सभामुख बनाउने, नसके पूर्व माओवादीको पनि रामबहादुर थापा समूहका नेतालाई सभामुख बनाउन चाहेको स्रोतको दाबी छ । नेम्बाङमा सहमति हुन नसके राष्ट्रपति विद्या भण्डारीको दवाबको बाहनामा उपसभामुख डा शिवमाया तुम्बाहाम्फेलाई सभामुख बनाउने पहल गर्ने र त्यो पनि नभए पूर्व माओवादीमा पनि थापा समूहकी भूसाललाई समर्थन गर्ने तयारीमा ओली रहेका छन् ।
पूर्व माओवादीको भागमा रहेको सभामुख कुनैपनि हालतमा नछोड्न प्रचण्डमाथि चर्को दवाव परेपछि उनले ओलीलाई सोहि अनुसारको दवाब दिईरहेका छन् । यता ओली भने सरकार सन्चालनमा सहज वातावरण बनाउनको लागि अनुभवि सभामुख छान्नुपर्ने भन्दै नेम्बाङमा सहमत हुन प्रचण्डलाई आग्रह गर्दै आएका छन् ।
प्रचण्डले सभामुख पूर्वमाओवादीबाटै बनाउनु पर्ने अडान लिएपछि प्रधानमन्त्री ओलीले उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेलाई राजिनामा नदिइ अत्तो थाप्नको लागि उचालेको स्रोतको दाबी छ । तुम्वाहाङ्फेलाई सभामुख बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपाका अध्यक्षद्वय ओली र दाहालसँग आग्रह पनि गरेकी थिइन् ।
यता उपसभामुखले आफूलाई सभामुख नदिने भए उपसभामुखबाट हटाउन महाभियोग लगाएर देखाउन चुनौति दिएकी थिइन् । उनले आफूलाई प्रमाणीत हुने गरी महाभियोग लगाउन चेतावनी दिएपछि नेकपा भित्रका पूर्वमाओवादीले पार्टीलाई चुनौति दिएको भन्दै उनलाई समानुपाति सिटबाट सांसद भएकाले फिर्ता बोलाउनु पर्नेसम्मको चेतावनी दिएका छन् । उनले प्रधानमन्त्री र राष्ट्रपतिकै आडमा यसरी चुनौति दिने साहश गरेको पूर्व माओवादीहरुको बुझाई छ ।