चर्चित गायिका आस्था राउतले आफूमाथि विमानस्थल प्रहरीले दुव्र्यवहार गरेको आरोप लगाएकी छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भद्रपुर जान लाग्दा चेकिङका क्रममा महिला प्रहरीले आफूमाथि अपमानित व्यवहार गरेको आरोप लगाएकी हुन् । अहिले गायिका राउतले प्रहरीले आफूमाथि अनमान गरेको भन्दै आक्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ बनिरहेको छ ।
भद्रपुरमा ओर्लिएपछि उनले गाडीबाटै फेसबुक लाइभ गर्दै आफू एउटा सामाजिक व्यक्ति भए पनि विमानस्थलमा प्रहरीबाट अपमानित हुनु परेको अभिव्यक्ति दिएकी थिइन् ।
यता गायिका राउतको भिडियो सामाजिक सञ्जालमा आएपछि प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले आफूले पनि उक्त भिडियो हेरेको बताएका छन् । घटनाबारे छानविन प्रक्रिया अगाडि बढाइसकिएको जानकारी दिंदै उनले भने, ‘प्रहरीलाई गालीगलौज गरेको भिडियो देखेपछि छानबिन समिति गठन भइसकेको छ ।’ छानविन समितिमा को–को रहेका छन् भन्नेबारे प्रहरीले खुलाएको छैन ।
भिडियोमा गायिका आस्था राउतले आफूलाई महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाएकी छन् । ‘ठूला पदका प्रहरीले मात्रै राम्रो भाषाको प्रयोग गर्ने हो रु’ भन्दै आस्थाले प्रश्न गरेकी छिन् । उनले प्रहरी संगठनलाई ठूलाहरुले नै शुद्धिकरण गर्दै अनुशासन र नैतिकताको शिक्षा दिनुपर्ने बताएकी छन् ।
झापाको भद्रपुर विमानस्थलमा रमिता नामकी महिला प्रहरीले आफूमाथि असभ्य व्यवहार गरेको भन्दै गायिका राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत लाइभ गर्दै आक्रोश पोखेकी थिइन् । भिडियोमा प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस को कि फुलिस’ जस्ता अपशब्द पनि प्रयोग गरेकी छन् । प्रहरी हाम्रो साथी भन्ने स्लोगन समेत हटाउन राउतले बताएकी छन् ।
यसैबीच सामाजिक सञ्जालमा चर्को आलोचना भएपछि गायिका राउतले माफी मागेकी छन् । ‘रिसको आवेगमा वेद पढिदैन्, मलाई पनि त्यस्तै भयो,’ गायिका राउतले माफी माग्दै भनेकी छन्, ‘आवेशमा प्रयोग भएका केहि शब्दहरुका लागि क्षमा चाहन्छु ।’