हिमपातले कर्णालीको जनजीवन कष्टकर, पानीको विकल्प हिउँ प्रयोग

कर्णालीमा फेरि हिमपात र वर्षा भएको छ । यसवर्ष यस क्षेत्रमा हिमपात र वर्षा भएको सातौं पटक भएको जनाइएको छ ।
हिमपातले हिमाली जनजीवन बढी प्रभावित बनेको छ । हुम्ला, डोल्पा, मुगु, जुम्लाका नागरिकको दैनिकी निकै कष्टकर बनेको यहाँका स्थानीय बासिन्दा जनाएका छन् । जाजरकोट, रुकुमपश्चिम र कालीकोटको उच्च भागका बासिन्दा चिसोबाट अछुतो रहन सकेका छैनन् । हिमपात र वर्षाले कठ्याङ्ग्रिँदो चिसो बढ्दै गएको बताइएको छ ।

जिल्ला प्रशासन कार्यालय हुम्लाका सहायक प्रमुख अधिकारी दत्तराज हमालले हिमपातले हुम्लाका नागरिकको दैनिकी निकै सकसपूर्ण बन्दै गएको जानकारी दिए । उनका अनुसार हिमपातको समयमा जिल्लावासीलाई बाहिर नजान र लामो यात्रा नगर्न सुझाइएको छ । हिमपातले साविकको कर्णालीमा मोबाइल तथा टेलिफोन सेवा पनि अवरुद्ध छ ।



लामो तथा छोटो दूरीका यातायात सञ्चालन हुन सकेका छैनन् । हवाई यातायात दुई दिनदेखि ठप्प छ । खाद्य तथा अन्य वस्तुको आयात रोकिँदा हिमाली बासिन्दाको दैनिकी समस्याग्रस्त बन्दै गएको छ । चिसोले हुम्ला, डोल्पा, मुगु र जुम्लाका धारामा बरफ जम्ने, पाइप फुट्ने, विद्युत्का पोल भाँचिने तथा तार चुँडिने समस्या बढेको त्यहाँका स्थानीयले जनाएका छन् ।

जुम्ला चन्दननाथ–९ का स्थानीय धर्मसिंह कठायतले बरफ जमेर धारा बन्द हुँदा खानेपानी जुगाड गर्न धौ–धौ भएको बताए । “धारोबाट पानी पग्लाउन पानी तताएर पाइपमा खन्याउनुपर्छ तर पानीको विकल्प हिउँ प्रयोग गर्ने गरेका छौँ”, उनले भने । सिलिण्डरको ग्याँससमेत चिसोले जम्न थालेपछि खान पकाउन पनि हम्यहम्य भएको छ ।

जाडो मौसममा वर्षेनी हिमाली जिल्लाका अधिकांश युवा कालापहाड जाने भएकाले यहाँ रहने ज्येष्ठ नागरिक, महिला, बालबालिका र अपाङ्गता भएका व्यक्तिलाई समस्या हुने गरेको तिला गाउँपालिका–३ जुम्लाका स्थानीय नरबहादुर रावतले बताए । हिमपातले बिस्कुन सुकाउन पिठो पिस्न, वस्तुभाउलाई घाँसपात, घरमा बाल्ने दाउरा प्रबन्ध गर्न गाह्रो भएको उनले दुखेसो व्यक्त गरे ।

सम्बन्धित समाचार