चेलीबेटी र पर्यटनलाई लक्षित गर्दै माघ ८ देखि सेल्फ डिफेन्सको अन्तर्राष्ट्रिय सेमिनार

नेपाल सेल्फ डिफेन्स संघको अन्तर्राष्ट्रिय सेमिनार माघ ८ देखि शुरू हुने भएको छ । माघ ८ देखि शुरू हुने उक्त सेमिनार १६ गतेसम्म काठमाडौं, जनकपुर र पोखरामा सञ्चालन हुने आयोजक नेपाल सेल्फ डिफेन्स संघले जनाएको छ । शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै संघले सो सेमिनारको बारेमा जानकारी गराएको हो ।

सेमिनारको बारेमा जानकारी गराउँदै सेल्फ डिफेन्सका महासचिव नुतन श्रेष्ठले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाईसमेत टेवा पु-याउने उद्देश्यसहित नेपाल सेल्फ डिफेन्स संघले २०२० को जनवरी महिनामा नेपालका प्रमुख शहरहरू काठमाडौं, पोखरा र जनकपुरमा सेल्फ डिफेन्ससँग सम्बन्धित अन्तराष्ट्रिय सेमिनार सञ्चालन गर्ने योजना बनाएको बताए ।



महासचिव श्रेष्ठले पहिलो पटक पर्यटन र खेलकुदलाई प्रबद्र्धन गर्ने उद्देश्यसहित प्रथम अन्तर्राष्ट्रिय सम्मेलन सोलुखुम्बु जिल्लामा सम्पन्न भइसकेको र सो सम्मेलनमा पोर्चुगलबाट आएका सेल्फ डिफेन्सको ग्राण्ड मास्टरसहित २२ जनाको विदेशी पाहुनाले नेपालमा सेल्फ डिफेन्स प्रशिक्षक, खेलाडीलगायतलाई प्रशिक्षण एवं छलफल गराएको जानकारी दिए । साथै, उनले पहिलो सम्मेलनको सफलताबाट प्रेरित हुँदै नेपालमा पुनः दोस्रो पटक अन्तर्राष्टिय स्तरको सम्मेलन आयोजनाको तयारीमा संघ जुटेको बताए ।

नेपाल सेल्फ डिफेन्स संघका अध्यक्ष डीबी रानापालले विशेषगरी चेलिबेटीहरू केही हदसम्म भए पनि सुरक्षित हुन भन्ने उद्देश्यले सम्मेलनको आयोजना गरेको बताउँदै अन्तर्राष्ट्रिय सेमिनारमा सेल्फ डिफेन्सका ग्राण्ड मास्टर र विभिन्न देशका सेल्फ डिफेन्स पदाधिकारी सहभागी हुने जानकारी दिए । साथै अध्यक्ष रानापालले नेपाल सेल्फ डिफेन्स संघका देशभर ४० जिल्लामा शाखाहरूसमेत रहेको बताए ।

सम्मेलनको उद्देश्यहरू

क) महिला तथा पुरूष दुवैलाई कुनै न कुनै बखत आत्मरक्षाका लागि आफै तयार हुनुपर्ने हुन सक्छ तसर्थ उनीहरूलाई आत्मरक्षा तालिमको महत्व र आवश्यकताका बारेमा जानकारी गराउने ।

ख) सेल्फ डिफेन्ससँग सम्बन्धित प्रशिक्षक तयार पारी भविष्यमा यस्ता तालिम सम्पूर्ण जिल्लामा सञ्चालन गर्ने ।

ग) पछिल्लो समयमा नेपालमा बढ्दै गएको हिंसाका विरूद्ध एकताबद्ध हुन आवाज बुलन्द पार्ने ।

घ) विदेशी प्रशिक्षकहरूलाई नेपालका बारेमा जानकारी गराई पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने ।

ङ) खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने ।

च) विभिन्न खेलकुद प्रतियोगितामा सहभागिता जनाई सेल्फ डिफेन्सलाई परिचित गराई पदक हासीलतर्फ उन्मुख हुने ।

सम्बन्धित समाचार