संघीयता बलियो बनाउन प्रदेशलाई अधिकार सम्पन्‍न बनाउनुपर्छ : उपेन्द्र यादव

समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय गणतन्त्रलाई मजबुत बनाउन प्रदेशलाई अधिकार सम्पन्न बनाउनुपर्नेमा जोड दिएका छन्। शुक्रवार जनकपुरमा प्रदेश कमिटीद्वारा आयोजित संगठन सुधार तथा सुदृढिकरण अभियानको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादबले प्रदेश अधिकार सम्पन्न र निर्णय कार्यान्वयण गर्न सक्ने स्रोत साधनयुक्त हुनुपर्ने बताएका हुन्।

उनले अस्ट्रेलिया र भारतको उदाहरण दिँदै प्रदेशसँग आफ्नो प्रहरी र आफ्नो कर्मचारी राख्न पाउने बताए। अध्यक्ष यादवले प्रदेशसँग न प्रहरी छ, न अन्य कर्मचारी र न एक रुपैयाँ आम्दानी रहेको भन्दै आक्रोस व्यक्त गरे। इथोपियाको उदाहरण दिँदै उनले भने, ‘त्यहाँ प्रदेशको आफ्नो सेना, सशस्त्र र जनपद प्रहरी छ। तर यहाँ केहि छैन। अनी कसरी सरकार भन्ने ?’



उनले प्रदेशलाई मजबुत बनाउनुको साटो कमजोर बनाउने षड्यन्त्र भइरहेको पनि बताए। ‘संघीयता भएको मुलुकहरुमा पहिचान, भषा र भूगोलको आधारमा प्रदेशको नामकरण भएको छ’, उनले भने, ‘तर नेपालमा प्रदेशहरू जुन बनेको छ, त्यसको कुनै आधार नै छैन।’ नेताहरू कसरी निर्वाचन जित्ने आधारमा नेपालमा प्रदेश बनाएको आरोप पनि लगाए।

विगतमा जसले शासन गरे, सधैँ उसैको शारण रहनेगरी संघीयता बनाएको उनको भनाइ थियो। उनले नेपालमा सुदृढ संघीयता चाहिएको बताए। ‘नाम मात्रको संघीयताको कुनै अर्थ हुँदैन’, उनले भने, ‘संघीयताको मूल अर्थ हो कुशासन र परतन्त्रको अन्त्य। त्यसैले देशमा संघीयता मात्रको अर्थ छैन। सुदृढ संघीयता चाहिएको छ।’

सम्बन्धित समाचार