अन्नपूर्ण आधार शिविरमा घुम्न गएका चार कोरियाली नागरिक र तीन नेपाली पथप्रदर्शकको अवस्था अझै अज्ञात रहेको छ । बिहीबार र शुक्रबार सो क्षेत्रमा परेको हिमपातसँगै आएको हिम पहिरोको कारण आधार शिविरमा पुगेका नौ कोरियन नागरिकको टोलीका अन्य पाँचलाई हिजो (शनिवार) हेलिकप्टरबाट उद्धार गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक दानबहादुर कार्कीले अन्नपूर्ण माछापुच्छ्रे आधार शिविर, छुमरुङ, देउराली र हिमालयन लगातका विभिन्न स्थानबाट अलपत्र परेका सय भन्दा बढीलाई तीन वटा हेलिकोप्टरबाट उद्धार गरिएको थियो ।
सम्पर्क विहीन रहेका नेपालीहरुमा गाइडहरुमा सरोज परियार र छिरिङ भोटे तथा भरिया मिनबहादुर लामा रहेका छन् ।
कास्कीको अन्नपूर्ण गाउँपालिका-११ हिमालय र देउरालीबीचको हिंकुमा हिमपहिरो जाँदा तीन नेपाली गाइडसहित चार कोरियाली पर्यटक शुक्रबार दिउँसोदेखि सम्पर्कमा आउन सकेका छैनन् ।