सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई अध्यक्षले नयाँ सभामुख को बनाउने भन्ने बारे सहमति गरेका छन् । सभामुखमा चयन गरिएको नामबारे आजै दिउँसो बस्ने सचिवालय बैठकबाट अनुमोदन गराउने तयारी गरिएको छ ।
आइतवार विहान करिब साढे २ घन्टा बसेको नेकपाका दुई अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच अग्नि सापकोटालाई सभामुख बनाउने निर्णय भएको स्रोतको दाबी छ ।
तर यसबारे दुबै पक्षले कुनै औपचारिक जानकारी भने गराएका छैनन् । नेकपाको उच्च स्रोतले भन्यो,‘अग्नि सापकोटाको विषयमा सहमति जुटेको छ तर सचिवालय बैठकले यसबारे अन्तिम निर्णय गर्नेछ ।’
आफूलाई सभामुख बनाउने पार्टी अध्यक्षहरुको निर्णयबारे कही जानकारी नपाएको नेकपाका नेता सापकोटाले बताए ।
‘विहान दुई अध्यक्षबीच बैठक बसेको थियो, बेलुकालाई सचिवालय बोलाउने निर्णय भएको थाहा पाएँ’ सापकोटाले भने,‘सभामुख चयनबारे निर्णय भएको थाहा पाएको छैन ।’
प्रधानमन्त्री ओलीले सुवास नेम्वाङ र प्रचण्डले अग्नि सापकोटालाई सभामुख बनाउन खोज्दा लामो समय सभामुख चयनमा समस्या देखिएको थियो ।